स्याङ्जाको पुतलीबजार नगरपालिका –१ का श्यामप्रसाद श्रेष्ठले ६२ वर्षपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रयोग गरेको जग्गाको मुआब्जा प्राप्त गरेका छन् । सर्वोच्च अदालतको फैसला र मुआब्जा समितिको निर्णयअनुसार श्रेष्ठले एक करोड रुपैयाँ पाएका हुन् ।
श्रेष्ठ परिवारको साबिक २७८० नम्बर कित्ताको ५–१२–१–२ क्षेत्रफलको जग्गा बाजे शिवलाल श्रेष्ठले १९९५ सालमा पाटे दर्ता र २०२२ सालमा पिता गुञ्जमान श्रेष्ठले भूमिसुधार ७ नम्बर फारम भरी भोगचलन गर्दै आएको थियो । सोही जग्गामा प्रशासनिक भवन निर्माण भएपछि मुआब्जा माग गर्दै लामो समयदेखि प्रक्रिया अघि बढाइएको थियो ।
सर्वोच्च अदालतले मुआब्जा समितिको निर्णयअनुसार रकम दिन आदेश दिएको आठ वर्षपछि गत कार्तिक २४ गते मन्त्रिपरिषद् बैठकले भुक्तानी गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय भएको करिब एक महिनामै मुआब्जा समितिले निर्धारण गरेको रकम श्रेष्ठको बैंक खातामा जम्मा भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
जग्गाको खोजीमा विभिन्न निकाय धाउँदै २०७० जेठ ७ गते परमादेशको मागसहित सर्वोच्च पुगेका श्रेष्ठलाई २०७४ जेठ ९ गते न्यायाधीश दीपककुमार कार्की र अनिलकुमार सिन्हाको इजलासले छ महिनाभित्र क्षतिपूर्ति वा सोधभर्ना दिन आदेश दिएको थियो । यसअघि २०६९ कार्तिक २ गते मुआब्जा समितिले दिनु नपर्ने निर्णय गरेको थियो ।
सर्वोच्चको फैसलापछि २०७७ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङको संयोजकत्वमा गठित मुआब्जा समितिले एक करोड रुपैयाँ निर्धारण गरी गृह मन्त्रालयमा सिफारिस गरेको थियो । साबिक जिल्ला सदरमुकाम नुवाकोटबाट २०२० सालमा पुतलीबजार सारिँदा श्रेष्ठको जग्गामा रहेको प्रशासन भवन हाल आफ्नै जग्गामा सारिएको छ ।
वर्षौंदेखि चलेको मुद्दा टुंगिएसँगै मुआब्जा पाएको भन्दै श्रेष्ठले आफ्नो जग्गाको मूल्य धेरै भए पनि अदालत र समितिको निर्णयअनुसार चित्त बुझाएको बताए । सर्वोच्चको फैसलाअनुसार दाजुभाइलाई १३ प्रतिशत र आफूले ८७ प्रतिशत हिस्सा लिएको श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते