स्याङ्जाको फेदीखोला गाउँपालिकाले कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिकास्तरीय पाँचौ कृषि मेला प्रदर्शनी सम्पन्न गरेको छ । “कृषि व्यवसायीकरणमा हाम्रो अभियान, कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन” भन्ने मूल नारासहित शुक्रबार फेदीखोला गाउँपालिका–२ स्थित फेदीखोला रंगशालामा सम्पन्न मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई केन्द्रमा राखेको थियो ।
प्रदर्शनीमा जरे तथा गाने बाली, फूल तथा पाते, फलफूल, फल समूहको तरकारी, मसला, नगदेबाली, लहरेबाली, रैथाने बाली, गँड्यौली मलदेखि लिएर एकीकृत कृषि, गाइभैँसी, भेडा–बाख्रा–बंगुर, मौरी, पोल्ट्री, पंक्षी, माछा पालनदेखि स्टल समूह गरी १७ विधामा प्रतिस्पर्धा गराइएको थियो । विज्ञ टोलीले स्थलगत फर्म र स्टलको अनुगमन तथा मूल्यांकन समेत गरेको थियो ।
मेलाअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका २६ वटा कृषि तथा पशुपन्छी फर्मको स्थलगत अवलोकन गरी पाँच विधामा २५ जना कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यसैगरी, २९३ वटा कृषि तथा पशुपन्छी नमूना समावेश खुला प्रतिस्पर्धाबाट उत्कृष्ट नमूनालाई पुरस्कार प्रदान गर्दै जम्मा ८५ जना कृषक सम्मानित भएका छन् ।
स्टलतर्फ जरे, फूल, तरकारी, मसला, नगदे, फलफूल, रैथाने बाली तथा पशुपन्छी समूहका कृषकहरूले आफ्ना उत्पादन प्रदर्शन गरेका थिए । उत्पादनको गुणस्तर, बजारमुखी सोच, फर्म व्यवस्थापन, बालीको अवस्था र पशुपन्छी संख्याजस्ता मापदण्डका आधारमा ८५ जना कृषक तथा समूहलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
मेलाको विशेष पक्ष भनेको कृषकका उत्पादनको प्रत्यक्ष वैज्ञानिक मूल्यांकन पनि हो । कृषि वैज्ञानिक श्यामप्रसाद पौडेलले स्टलमै पुगेर बाली तथा उत्पादनको अवस्था अवलोकन गर्दै गुणस्तर सुधार र उत्पादन वृद्धि गर्ने उपायबारे कृषकलाई सुझाव दिएका थिए । यसले मेलालाई केवल प्रदर्शनीमा सीमित नराखी सिकाइ र परामर्शको थलो बनाएको सहभागी कृषकहरूको भनाइ छ ।
कार्यक्रममा नि:शुल्क बाली उपचार शिविर, नि:शुल्क माटो परीक्षण सेवा तथा कृषि व्यवसायसँग सम्बन्धित विविध विषयमा छलफलसमेत गरिएको थियो । स्थानीय पाठ्यक्रमअन्तर्गत कृषि अध्ययन गर्ने विद्यालयका विद्यार्थीले प्रत्यक्ष अवलोकन गरी व्यवहारिक ज्ञान लिने अवसर पाएका थिए ।
फेदीखोला गाउँपालिकाले पकेट क्षेत्र विकास, उत्पादनमा आधारित अनुदान, बाँझो जग्गा खेती प्रोत्साहन, कृषि उपज संकलन केन्द्र, कृषि सहकारी, कृषि एम्बुलेन्स, मौरी पालन हब, युवा उद्यम कार्यक्रमलगायत नमूना अभ्यासहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
गाउँपालिकाले प्रत्येक आर्थिक वर्ष कृषि व्यवसायिकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताएको छ । मेलामा पालिकाका पाँचै वडाका कृषक, उद्यमी र सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला