जन्म र मृत्यु मानव जीवनका अनिवार्य पाटो हुन् । जीवनयात्रा समाप्त भएपछि सबैको अन्तिम गन्तव्य एउटै स्थानमा पुग्छ । तर कतिपय ठाउँमा दाहसंस्कार गर्ने घाट अव्यवस्थित हुँदा अन्तिम संस्कार नै कष्टकर बन्ने गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा रहेको रामनदी घाटमा आवश्यक पूर्वाधार नहुँदा दाहसंस्कारका लागि आउने मलामीले लामो समयदेखि समस्या भोग्दै आएका छन् । स्याङ्जा र पाल्पाको संगमस्थलमा अवस्थित यो घाट धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । यही कारण जिल्लाका विभिन्न स्थानबाट अन्तिम संस्कारका लागि यहाँ शव ल्याइन्छ ।
कालिगण्डकी नदीले बगाएर ल्याएका काठदाउरा छोपेर संस्कार गर्ने परम्परा यहाँ पुरानै हो । तर घाटमा चिता घर, पिउने पानी, शौचालय र मलामी बस्ने प्रतिक्षालयजस्ता आधारभूत संरचना नहुँदा जोखिमपूर्ण अवस्थामा दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेको स्थानीय ऋषि न्यौपानेले बताए । घाटसम्म पुग्ने बाटो, चिता बनाउने ठाउँ र सुरक्षित रूपमा संस्कार गर्ने अवस्था नै नाजुक रहेको उनको भनाइ छ ।
न्यौपानेका अनुसार वर्षात्को समयमा समस्या झन् बढ्छ । थोरै बाँकी रहेको स्थानमा चिता बनाउँदा बाढीले बगाइदिने, भिजेको काठदाउराले दाहसंस्कार गर्नुपर्ने अवस्था आउने गरेको छ । घाट जाने बाटो पनि हरेक वर्ष बाढीले क्षति पुर्याउने र विद्युत् बत्तीको व्यवस्था नहुँदा रातिको समयमा संस्कार गर्न कठिनाइ हुने गरेको छ ।
धार्मिक विश्वासका कारण कालिगण्डकीमा अन्तिम संस्कार गर्दा पुण्य प्राप्त हुने मान्यता रहेकाले धेरै ठाउँबाट राम्दीमा शव ल्याइने गरेको गल्याङ–१ का वडाध्यक्ष मणिप्रसाद बस्यालले बताए । तर घाटको अव्यवस्थाका कारण कतिपय अवस्थामा शव पूर्ण रूपमा नजल्दा घाट झनै फोहर बन्दै गएको उनको भनाइ छ । उनले यो घाट छ–सात वटा पालिकासँग जोडिएको भए पनि निर्माण र व्यवस्थापनतर्फ कसैको पर्याप्त ध्यान नपुगेको उल्लेख गरे ।
राम्दी घाटलाई पूर्ण रूपमा व्यवस्थित बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी तत्काल कार्यान्वयनमा लैजानु आवश्यक देखिन्छ । धार्मिक महत्व बोकेको यस घाटको सुधारका लागि सम्बन्धित निकाय र सरोकारवाला सबैको साझा चासो र पहल अपरिहार्य छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन