राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले खनेको खाल्डोमा उनीहरू आफैं फसेको टिप्पणी गरेका छन्।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना दलहरूको असक्षमताले मुलुक जर्जर अवस्थामा पुगेको र उनीहरू आफैंले सिर्जना गरेको कुशासनको भुमरीमा फसेको बताएका हुन्।
‘राज्यसत्ताको चरम दुरुपयोग गरेर तिमीहरूले खाल्डो खन्यौ। मैले भनेको थिएँ- मलाई पुर्न ६ फिट वा साढे ६ फिटको खाल्डो खनेको भए फरक पर्दैन थियो। तर, तिमीहरूले यति ठूलो खाल्डो खन्यौ कि अब तिमीहरू सबै नपुरीकन सुख छैन,’ लामिछानेले भने, ‘तिमीहरू आफैंले खनेको खाल्डोमा आफैं फसेका हौं।’
लामिछानेले पुराना दलहरूले फेरि पनि षड्यन्त्र गरेर सत्ता लम्ब्याउने वा संसद ब्युँताउने खेल खेल्न सक्ने भन्दै चेतावनी दिए। उनले अबको निकास ताजा जनादेशबाट मात्र सम्भव हुने जिकिर गरे।
‘विभिन्न षड्यन्त्र गरेर चुनाव सार्ने, घटनाहरू घटाइदिने र चुनाव सर्छ कि क्या हो भन्ने पार्ने काम नगर्नुहोला,’ उनले भने, ‘संसदबाट बाहिर निकालेर फेरि त्यही संसद ब्युँताउने सपना नदेख्नुस्। संसद त आउँछ, तर फ्रेस म्यान्डेट लिएर आउँछ। नयाँ साथीहरू लिएर आउँछ।’
उनले पुराना दलहरू मिलेर आए पनि वा एक्लाएक्लै आए पनि रास्वपालाई फरक नपर्ने बताए। ‘म सुनिरहेको छु, ठूला राजनीतिक दलहरू फेरि मिल्दैछन् रे ! मिलेर आऊ कि नमिलेर आऊ, अब जनताले तिमीहरूलाई चिनिसकेका छन्,’ लामिछानेले भने।
सम्बोधनका क्रममा लामिछानेले रास्वपा पहिचानविरोधी नभएको स्पष्ट पारे। उनले थारु, मुस्लिम, दलित वा अल्पसंख्यकको पहिचानको मुद्दालाई राजनीतिको रोटी सेक्ने साधन मात्र बनाइएकोमा आफूहरूको आपत्ति रहेको बताए।
‘पहिचानको विषयलाई लिएर राजनीति गर्ने र रोटी सेक्ने मुद्दा मात्र बनाउने कुराको मात्र हाम्रो विरोध हो, पहिचानको विरोधमा हामी कहिल्यै थिएनौं,’ उनले भने। नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थारु अभियन्ताहरूसँगको एकताले पार्टीलाई थप समावेशी र परिपक्व बनाएको उनको दाबी थियो।
सभापति लामिछानेले २०८२ सालको भदौमा भएको जेन–जी आन्दोलनले मुलुकमा नयाँ आशा जगाएको भन्दै अब नाति–पनाति पुस्ताले देश चलाउने क्षमता राख्ने बताए।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु