स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

निर्वाचन प्रहरी भर्ना

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

District-Police-Office-Syangja

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा जिल्लामा निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निर्वाचन प्रहरी भर्ना, छनौट तथा नियुक्ति समितिले बिहीबार यससम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

यसअघि निर्वाचनका बेला खटाइने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’ भनिँदै आएकोमा यसपटक भने ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इच्छुकले जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट फारम लिई आवेदन दर्ता गराउन सक्नेछन् ।

दरखास्त दिने उम्मेदवारले फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । साथै नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने शर्त तोकिएको छ ।

सूचनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी तथा पूर्व वन रक्षक, साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेश पत्रका आधारमा प्राथमिकता दिइनेछ । यसअघि प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्तिलाई समेत प्राथमिकतामा राखिएको छ ।

आवेदकको प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुने जनाइएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने छ ।

नियुक्ति पाएका निर्वाचन प्रहरीले ४० दिन वा सरकारले तोकेको अवधिसम्म काम गर्नुपर्नेछ । पारिश्रमिकतर्फ प्रहरी जवानको सुरु तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको जम्मा ३४ हजार ७ सय ७६ रुपैयाँ पाउनेछन् । साथै ४० दिनका लागि खाद्यान्न बापतको रकम, निर्वाचन स्थलसम्म आउजाउका लागि तोकिएको यात्रा खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds