आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा प्रमुख राजनीतिक दलहरूले उम्मेदवार तय गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिनसम्म आइपुग्दा जिल्लामा सक्रिय अधिकांश दलहरूले आफ्ना उम्मेदवार सार्वजनिक गरिसकेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा नेकपा (एमाले) ले पूर्व प्रदेश सांसद मिनप्रसाद गुरुङ र क्षेत्र नं. २ मा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका अध्यक्ष भरतराज ढकाललाई र क्षेत्र नं. २ मा महासमिति सदस्य तथा पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र) ले पनि दुबै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे र क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पदम विश्वकर्मालाई उम्मेदवार बनाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा क्षेत्र नं. १ बाट डा. धनञ्जय रेग्मीलाई उम्मेदवार बनाएको छ । पर्यटन क्षेत्रका विज्ञ रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत हुन् । क्षेत्र नं. २ मा झविलाल डुम्रेलाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्याङ्जा क्षेत्र नं. २ बाट रबिन पाठकलाई उम्मेदवार बनाएको छ । युवा पुस्तालाई अघि सार्ने रणनीतिअनुसार उम्मेदवार चयन गरिएको राप्रपाको भनाइ छ । क्षेत्र नं. १ मा भने छलफल जारी रहेको जनाइएको छ ।
बिप्लव नेतृत्वको नेकपा माओवादीले स्याङ्जा क्षेत्र नं. २ मा ध्रुव गौडेललाई उम्मेदवार बनाएको छ । केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पत्रकार गौडेल क्षेत्र नं. २ बाट मैदानमा उत्रने भएका हुन् । क्षेत्र नं. १ मा उम्मेदवार छनोट प्रक्रिया अझै जारी रहेको पार्टीले जनाएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा स्याङ्जाको राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै मतदानस्थलहरूको वर्गीकरण गरेको छ । समितिका अनुसार ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ लाई संवेदनशील र ७२ लाई सामान्य श्रेणीमा राखिएको छ ।
जिल्लाभर निर्वाचनको व्यवस्थापनका लागि कुल १९९ वटा मतदानस्थल निर्धारण गरिएका छन्, जसअन्तर्गत ३२२ वटा मतदान केन्द्र सञ्चालन हुनेछन् । अघिल्लो निर्वाचनको तुलनामा यस पटक मतदान केन्द्रको संख्या दुईले थप गरिएको हो । यसैगरी, स्याङ्जा जिल्ला कारागारमा रहेका मतदातालाई मतदानको अवसर दिन एक अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ ।
यस निर्वाचनमा स्याङ्जा जिल्लामा क्षेत्र नम्बर–१ मा १ लाख ३० हजार ८८६ जना र क्षेत्र नम्बर–२ मा १ लाख १७ हजार ९३० जना गरी कुल दुई लाख ४८ हजार ८१६ जना मतदाताले मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार तीमध्ये एक लाख २२ हजार ४६४ जना पुरुष, एक लाख २६ हजार ३५१ जना महिला तथा अन्य समूहका एक जना मतदाता रहेका छन् ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर