पोखरा । प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवारको मनोनयन दर्ता गरिँदै छ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ ।
मनोनयनका क्रममा एक राजनीतिक दलबाट बढीमा २५ जना मात्र सहभागी हुन पाउने गरी आचारसंहिता जारी भएको छ । बाजागाजा र कोणसभा पूर्णरुपमा निषेध गरिएको छ । आचारसंहिताअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारका काम गर्न पाइनेछ । यस अवधिमा मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा प्रचार सामग्री प्रकाशन वा प्रसारण र घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ । निर्वाचनमा विजयी भएपछि उम्मेदवारले कुनै प्रकारको भोजभतेर गर्न वा नगद तथा जिन्सी वितरण गर्न पाउने छैनन् ।
यसैबीच, कास्कीमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कास्कीका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार पोखरामा गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागीहरूले निर्वाचन सफल पार्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले आचारसंहिता पालना भए वा नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताए । ‘आचारसंहिता उल्लंघनका घटनामा उम्मेदवारको मनोनयन नै रद्द हुनेसम्मको कानुनी व्यवस्था छ,’ उनले भने ।
बैठकमा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको र यसमा राजनीतिक दलहरू बढी जिम्मेवार हुनुपर्ने बताए । यस्तै, नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । नेकपा कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले आचारसंहिता पालनामा विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा रास्वपा, राप्रपा, मंगोल नेसनल अर्गनाइजेन लगायत दलका प्रतिनिधि र पत्रकार सहभागी थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिइन् । उनले जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी झन्डै २ हजार सुरक्षाकर्मी र २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी परिचालन गरिएको बताइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले मनोनयन दर्ताका लागि भीडभाड हुन नदिन राजनीतिक दलहरूलाई आलोपालो समयको व्यवस्थापन गरिएको जानकारी दिए ।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता २०८२ का विषयमा जानकारी गराउँदै यसको उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना र कानुनी कारबाही हुने बताए ।
आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले सवारी साधन प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न पाउने छैनन् । जुलुस वा आमसभा गर्दा स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्नेछ । यस्तै, जुलुस वा आमसभामा भाग लिने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन र झोला बोक्न नपाउने व्यवस्था गरिएको छ । यो आचारसंहिता नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, स्थानीय कार्यपालिका, कर्मचारी, सुरक्षा निकाय, बैंक तथा वित्तीय संस्था र विकास साझेदार संस्थाहरूलाई समेत पूर्ण रूपमा लागू हुनेछ ।
कास्कीमा क्षेत्र नम्बर १ का लागि पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय पोखरा १७ ड्यामसाइड स्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालयमा राखिएको छ । क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा स्थापना गरिएको छ ।
कास्कीमा निर्वाचनका लागि १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्र तोकिएको छ । कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिनिधि सभा निर्वाचनः मनोनयन दर्ता गर्न जाँदा बाजागाजा र कोणसभा गर्न नपाइने
उम्मेदवार मनोनयन आजदेखि: उम्मेदवार मनोनयनका लागि यी कागजात अनिवार्य
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए : ओली
शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
सञ्चारमन्त्री खरेल र खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै
देउवाको रिटका १० तर्क: अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज गरिनुपर्छ
यो पनि पढौँ
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
कांग्रेसको नेतृत्वमा गगन पुगेपछि दुई ठूला कम्युनिस्ट पार्टी संवादमा, चुनावका विषयमा कुराकानी