स्याङ्जा जिल्लामा क्षयरोग नियन्त्रणका प्रयास भइरहे पनि अवस्था अझै चुनौतीपूर्ण देखिएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा क्षयरोगका कारण १६० जना बिरामी उपचारमा रहेका छन् भने पाँच जनाको मृत्यु भइसकेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेहरू बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिका क्षेत्रका हुन् । अहिले सबैभन्दा धेरै बिरामी वालिङ नगरपालिकामा ५० जना छन् भने सबैभन्दा कम फेदीखोला गाउँपालिकामा दुई जना मात्रै रहेका छन् ।
त्यसैगरी, गल्याङ नगरपालिकामा २९, कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकामा १४/१४, भीरकोट नगरपालिकामा १३, पुतलीबजार नगरपालिकामा ११, बिरुवा गाउँपालिकामा १०, हरिनास गाउँपालिकामा आठ, अर्जुनचौपारी गाउँपालिकामा पाँच र आँधीखोला गाउँपालिकामा चार जना बिरामी उपचाररत छन् ।
विश्व क्षयरोग दिवसको सन्दर्भ पारेर मंगलबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कार्यालय प्रमुख राम बहादुर नेपालीले क्षयरोगबारे समाजमा फैलिएका भ्रम चिर्न र रोग लुकाउने प्रवृत्ति घटाउन सञ्चार माध्यमको सक्रियता अपरिहार्य रहेको बताएका छन् । उनले सचेतनामूलक समाचार र तथ्यपरक जानकारीमार्फत पत्रकारहरूले जनचेतना बढाउन महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे ।
कार्यालय प्रमुख नेपालीका अनुसार जिल्लामा पहिचान भएका बिरामीमध्ये केही नसर्ने प्रकारका पनि छन् भने उपचारको अवस्था क्रमशः सुधारोन्मुख रहेको छ । नियमित रूपमा कम्तीमा छ महिनासम्म औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने उनले बताए ।
क्षयरोग पहिचानका लागि जिल्लाभर विभिन्न पालिकामा समय–समयमा खकार परीक्षण गरिँदै आइएको छ । साथै, स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरण र डट्स विधिबाट स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको छ ।
यद्यपि, अझै करिब ४० प्रतिशत बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेको कार्यालयको अनुमान छ । अशिक्षा, अज्ञानता, भौगोलिक विकटता र समाजमा रहेको हेपाहा दृष्टिकोणका कारण धेरै बिरामी रोग लुकाएर बस्ने गरेको नेपालीले बताए ।
“क्षयरोगी पहिचान गरी उपचारमा ल्याउनु अहिलेको मुख्य चुनौती हो,” उनले भने, “समाजको सोच परिवर्तन नभएसम्म समस्या समाधान गर्न गाह्रो हुन्छ ।”
जिल्लामा खकार परीक्षणका लागि विभिन्न स्वास्थ्य केन्द्र र प्रयोगशालाहरू सञ्चालनमा छन् । साथै, दुई हप्ताभन्दा बढी खोकी लागेका शङ्कास्पद व्यक्तिको घरमै पुगेर खकार सङ्कलन गर्ने व्यवस्था समेत गरिएको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’ मार्फत बिरामीसँग सम्पर्कमा आएका व्यक्तिहरूको पनि परीक्षण गर्ने गरिएको छ ।
त्यसैगरी, संक्रमितको घरमा रहेका पाँच वर्षमुनिका बालबालिकालाई संक्रमण नदेखिए पनि तीन महिनासम्म औषधि खुवाउने व्यवस्था मिलाइएको छ, ताकि रोग फैलिन नपाओस् ।
लुकेर बसेका बिरामी पत्ता लगाउन विभिन्न संघसंस्थाले गाउँ–गाउँमा अभियान सञ्चालन गरिरहेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार उपचारमा नआएका एक जना बिरामीले १० देखि १५ जनासम्ममा संक्रमण फैलाउन सक्ने भएकाले समयमै पहिचान र उपचार अत्यन्तै आवश्यक छ ।
नेपाल सरकारले सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । तर, लक्ष्य हासिल गर्न समुदायस्तरमा सचेतना वृद्धि र सबै बिरामीलाई उपचारको दायरामा ल्याउनु अपरिहार्य देखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने