स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर हरिनास गाउँपालिका–६ निवासी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्ने सूचना प्रहरीमा पुगेपछि तत्काल प्रहरी परिचालन गरिएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आरोपित २८ वर्षीय सन्दिप विकलाई शनिबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका विक पनि हरिनास गाउँपालिका–६ कै स्थायी बासिन्दा हुन् । उनलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको र अहिले जबरजस्ती करणी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । बालिकाको अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । बालअधिकार र संवेदनशीलतासँग जोडिएको विषय भएकाले पीडितको पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी चौधरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ ।
“घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो । आरोपितलाई नियन्त्रणमा लिएर स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ,” उनले भने, “हाल घटनासम्बन्धी थप अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइएको छ ।”
प्रहरीले आइतबार स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनासँग सम्बन्धित थप प्रमाण संकलन, बयान तथा अन्य प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु