कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने

कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने

8th-kaligandaki-goldcup-chapakot

आठौँ कालीगण्डकी गोल्डकपको उपाधिका लागि स्याङ्जाको होराइजन क्लब वालिङ र पाल्पाको ज्योतिपुञ्ज युवा क्लब रामपुरबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार सम्पन्न सेमिफाइनलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

पहिलो सेमिफाइनलमा होराइजनले पोखराको बौद्ध शान्ति क्लब रामघाटलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

खेलको २४औँ मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै बौद्ध शान्तिलाई अग्रता दिलाएका थिए । तर ३४औँ मिनेटमा अनिष तामाङले फ्रिकिकमार्फत गोल गरेपछि होराइजनले खेल बराबरीमा ल्यायो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर बनाए पनि थप गोल हुन सकेन ।

पेनाल्टी सुटआउटमा होराइजनले ५–४ को नतिजा निकाल्दै फाइनल यात्रा तय गर्‍यो । टोलीका गोलरक्षक अनिष महतो प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो सेमिफाइनलमा पाल्पाको ज्योतिपुञ्ज युवा क्लब रामपुरले गोरखाको हिल्ली फिल्डर्स गोरखा एफसीलाई २–० गोलले हरायो । खेलको १३औँ मिनेटमा बसन्त कुमालमाथि विपक्षी खेलाडीले फाउल गरेपछि ज्योतिपुञ्जले पेनाल्टी पाएको थियो । त्यसलाई आशिष गुरुङले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अघि रहेको ज्योतिपुञ्जका लागि दोस्रो हाफमा सुनिल थापाले अर्को गोल थपे । त्यसपछि खेलमा थप गोल हुन नसकेपछि ज्योतिपुञ्ज २–० ले विजयी भयो । पहिलो गोल गरेका आशिष गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।

अब उपाधिका लागि होराइजन र ज्योतिपुञ्जबीच आज दिउँसो ठीक २ बजे फाइनल खेल हुनेछ ।

द राइजिङ ग्रुप चापाकोटको आयोजनामा कात्तिक १५ गतेदेखि चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र र उपविजेताले एक लाख ५० हजार हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले बताए । त्यस्तै, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ