किन छोडेँ अमेरिका ? किन आएँ राजनीतिमा ? – सीके राउत [भिडियो]

११ औं नेपाल लिटरेचर फेस्टिभलः

किन छोडेँ अमेरिका ? किन आएँ राजनीतिमा ? – सीके राउत [भिडियो]

मधेश मन्थनः ‘मिडियाले मिस्टिरियस बनायो, राज्यले देशद्रोही’

छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन् । त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो ।

भन्छन् नि ‘मिस्टिरियस’ छवि !

मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ । घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन् । लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला ? भनेर लागिहाल्छ ।

त्यसमाथि ‘मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो ।

पटकपटक पक्राउ पर्थें । २ दजर्नचोटि त पहिले नै थियो । अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें । कतै बोल्न जाँदा पनि हातमा माइक समात्नेत्तिकै पक्राउ परिहाल्थें । यसले मान्छेहरुलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रैछ ? मुखबाट आगो निकाल्छ क्याहो ?’

त्यतिबेला मिडियाले मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टिकरण नै सोधियो । सायद कारवाही पनि गरियो होला !

मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडिया नै बनाइदिएको हो । तर, त्यसमा मेरो कुनै दुखेसोचाहिँ छैन । क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ । अरुले पनि सुन्न पाएका छन् । हामीसँग भएका जिज्ञासाहरु क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं ।

म झन्डै २०११ मा नेपाल फर्किएँ । अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो । ‘यो मान्छे कि नेपाल आयो ? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि ?’ भनेर पनि प्रश्न उठ्थ्यो ।

अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो । अहिले पनि त्यही सोधिन्छ । लाग्दैछ–यो प्रश्नको आयू धेरै लामो रहेछ । जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न ।

मेरो जन्म सप्तरीको गाउँमा भयो । त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो । अहिले पनि लगभग त्यस्तै छ । मैले त्यहीं पढें । पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकें । त्यसपछिमात्रै बस चढेर काठमाडौं गएको हुँ । पुल्चोकमा ओभसियर गरें, इन्जिनियरिङमा ब्याचलर गरें । त्यसपछिमात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरें ।

सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भएता पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । दाइहरु कलेजसम्म पढ्न भ्याउनुभएको थियो । त्यहीभएर पनि बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो ।

त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ । काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ । एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैन थियो । लेख्न आए पनि बोल्न आउँदैनथियो ।

काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी आयौं । त्यतिबेला टिकट नदिएर मुडामा बसालिन्थ्यो । त्योबला अरुले दशथरि गाली गरेको छ, लात्ताले हानेको छ । अहो ! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो ।

कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो । गान्धीसँग घटेका घटनाहरु तुलना हुन्थ्यो, त्यतिबेला पनि ।
काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो । तर, कक्षामा बसेको छु । परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि ! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गल्ल हाँस्थे । त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमान ढोका जान्थें, म्युजियम जान्थें । कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो । पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन ।

दोस्रो वर्षमा बुवाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरुले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागें । त्यो एउटा ट्रान्जिसन थियो । अर्को सेमेस्टर टप गरें । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले । पछि इन्जिजियरमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ ।

त्योबला म पनि अलि राष्ट्रवादी खालको थिएँ । गोर्खाली कविताहरु लेख्थें । प्रतियोगिताहरुमा भाग पनि लिन्थें । यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो । त्यो संस्थाको सदस्य बन्नुप¥यो भनेर आउँदा किन सदस्यता लिनुप¥यो भनेर आउँदा ‘मधेशी–पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ ।

त्यतिबेला म विद्यार्थी थिएँ । राजनीतिमा कुनै चासो थिएन । चुनावमा भोट गर्न पनि जादिन थिएँ, खाली पढाइमामात्रै ध्यान थियो ।

पछिपछि एउटा अपवाफ फैलियो । हृत्तिक रोशनले नेपालललाई घृणा ग¥यो है भनेर कतै छापियो । त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यहीबेला सायद गोली लागेर पनि राजबिराजमा एकजना मारिनुभएको पनि थियो ।

त्यहीबेला काठमाडौंमा मधेशविरोध कार्य भए । काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कफ्र्युको वातावरण बन्यो । त्यतिबेला विन्टर भ्याकेसन थियो । अरु साथीहरु फर्किसकेका थिए । मभने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ ।

विभेदको नांगो रुप त्यतिबेलै हो देखेको ।

मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्टिटेक्चरका एकवजा नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेशी होइन, कालोकालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचें ।

त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो । नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु । पहिले त सबै साथीहरुले एकदम सम्मान गर्थे । तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध भयो ? भनेर सोच्न बाध्य भएँ ।

त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरु पनि बाहिरबाछ ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो । त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छछ त ? आखिर म को हुँ ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो ।

भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा म माथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो ।

त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो । इतिहासहरु खोतल्न थालें । मेरो रुट, मेरो पहिचान के हो ? भनेर खोज्न थालें । त्यहीबेला जापानमा स्कलरसिप पाएर गएँ । बाहिर पनि विभेद भोग्नैपर्यो । तर, त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन । म आफैं पनि अध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ ।
‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त !’ ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई प्रमिस गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीं बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’

तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन । नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे । नागरिकता बोकेको छु भनेर भन्नुपर्ने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो ।

त्यतिबेला मधेश आन्दोलन पनि भयो । त्यतिबेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । त्यहीबेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो । तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन ।

मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो । पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थें । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन । ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन । खाना खाने फुर्सद छैन । दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरु हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन’ यस्तो पनि जीवन हुन्छ ? भनेर तुरुन्तै सोचें ।

भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन ।’
०००
अमेरिका बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ । त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजत्ति भएको होला ! उहाँहरुले बोलाउनु भएको थियो । त्यसमा नेपालबाट संविधान सभाको सदस्यहरु पनि जानु भएको थियो । त्यसमा एकजना धोती लगाउने पनि जानुभएको थियो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो । धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन ।

म त अमेरिकामा भर्खर पुगेको थिएँ । मलाई फोन आयो, हामीलाई यस्तो दुव्र्यवहार गरियो । हामीलाई स्वागत नगर्ने ? भन्नु भयो । उहाँहरुलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्यौं । त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ । उहाँहरुले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ ।

मधेश कतिको बनेको रैछ ? भनेर मेचीमहाकाली यात्रा त्यहीबेला गरेको हुँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें । कञ्चनपुरबाट फर्किनेबला थारुहरुको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले । उनीहरु घर,जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गरे भनेर भन्नुभयो ।

न म सरकारी कर्मचारी हुँ न म सिडिओ न प्रहरी हँ । त्यहाँ पनि यहाँ कञ्जनपुरको आदिवासी समुदायले त्यसरी खु्ट्टा समाथेर रुन थालेपछि कि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध यो ।

अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो ।

गाउँमा कोही नेता आयो भने ‘तपाईंहरुलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ मैले पनि सोधें । उनीहरुले बाटोघाटो मागेनन् । खेतमा बोरिङको व्यवस्था गरिदिनुप¥यो बाबु’ भनेर भने । ‘खेतमा बाली र पेटमा अन्न प¥यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छन्’ भनेर भने ।

उनीहरुले मागेको ठिकै थियो । त्यसपछि म बोरिङको लागि कोशिस गरें । लाहानको कार्यालयमा सम्पर्क गरें । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें । तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ ।

अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हूँला । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने गाहा भयो । त्यसपछि नै मैले यो तबसम्म बद्लिँदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो ।

अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें । त्यसको करिब १ वर्षैपछि नेपाल फर्किएको हुँ ।

नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरें । तर, भाषण गर्नेबित्तिकै सबबै त्रसित भए । अमेरिकाबाट फर्कियो, हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लागिरह्यो । पछि विचार राख्ने त्र,mममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो । यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें ।

हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौं । थियो, कुनैबेला, छ । पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ । २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ । समग्र मधेशको झन्डै ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ ।

यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धरपकड हुन थाल्यो । यतिसम्म सरकारले दियो फ्रि डा सिके राउत भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो । फोटोकपी पेपरमा फ्रि डा सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो ? भन्ने लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो ।

अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइदिए । भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो ।

हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौं भनेर संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो ।

म जतिबेला फर्किएँ त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किंदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यहीबेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं । यो जेल जानुभन्दा अगाडिको कुरा हो ।

पछि राममनोहर घटना घट्यो । उहाँको हिरासतमा मृत्यु भयो । हामी तयसलाई हत्या भन्छौं । त्यो पनि लोकतन्त्रको कालोधब्बा हो । उहाँमाथि कुनै मन्त्रीज्युलाई कालोझन्डा देखाउनु भयो भनेर आरोप लगाइयो । पछि समातेर उहाँको मृत्यु भयो, हत्या भयो । त्यसपछि यो सविधानले जति अधिकार दिएको छ, त्यो अधिकार दिएको छैन भनेर कालो दिवस मनायौं । त्यसको प्रतिसोध राख्न छापा मारेर मलाई जेलसम्म पु¥याइदिए । जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछिमात्रै वार्ता सफल भयो ।

पछि पार्टी गठन ग¥यौं । लगत्तै कोरोना महामारी सुरु भयो । मूलधारको राजनीतिमा हामी परिवर्तन गर्न सकिन्छ भनेरे आएका हौं । योभन्दा अगाडि संसदमा संसदमा पुगिसिकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो ।

तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ । त्यहाँ को कहिले बोल्ने पालो हुन्छ । अर्को, संसदमा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भनेर महत्व राख्दैन । त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरुको सिट संख्याका आधारमा हुने रहेछ ।

(पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा डा सिके राउतले ‘मधेश मन्थन’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश । उक्त सत्र खगेन्द्र संग्रौलाले सहजीकरण गरेका थिए ।)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds