गण्डकीका नेता जन्माउने क्याम्पस भनेर चिनिने पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाजी मार्दै आएको यस क्याम्पसमा रश्मि आचार्य सभापति चुनिएपछि निर्वाचन हुन सकेको छैन । पिएनको स्ववियु निर्वाचनलाई नेता उत्पादन गर्ने कारखानाको रुपमासमेत हेरिन्छ । यहाँको निर्वाचन परिणाम दलहरुको प्रतिष्ठाको विषय बन्छ ।
देशकै धेरै विद्यार्थी अध्ययन गर्ने ठूलो क्याम्पस पिएनमा यस पटक चुनाव हुने सम्भावना बढेको थियो । तर, निर्वाचन समिति र अधिकृतले गल्ती गर्दा यसपटक पनि अनिश्चित बनेको छ ।

निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले सर्वपक्षीय बैठकमा जातिय विभेदजन्य शब्द प्रयोग गर्दा चुनावी माहौल भड्किन खोजेको अवस्थामा बेलैमा क्षमायाचना गरेर सच्याएका कारण सामान्य बनेको थियो ।

त्यसपछि चुनावी वातावरण तयार भइरहँदा निर्वाचनकै दिन फेरि भाँडियो । मतपत्र छपाईमा त्रुटी गर्दा चुनाव नाचाहने तत्वलाई फाइदा पुगेको छ । मतपत्रमा अखिल छैठौंका उम्मेदवारको नाम पछाडि कोठा नराखिँदा चुनाव भाँड्न निहूँ चाहिएको तत्त्वलाई खोजेजस्तै भयो ।
नत्र, सर्वपक्षीय छलफलबाट निचोडमा पुग्न गाह्रो थिएन । कोठा नभएका कारण त्यस स्थानमा नामको अगाडि वा पछाडि ठीक लगाएमा मान्ने भनेर सहमति कायम गर्न सकिन्थ्यो । तर, भाँड्ने पक्ष नै हाबी बन्दा सहमति बनेन ।
केही विद्यार्थी भने निर्वाचन समितिले जानाजान त्रुटिपूर्ण मतपत्र छापेको आरोप लगाउँछन् । फाइनल नगरी छापाखानामा कसरी छापिन्छ ? भन्दै उनीहरू प्रश्न गर्छन् । निर्वाचन समिति नै चुनाव हुन नदिने तत्वको हितमा रहँदा यस पटक पनि चुनाव अनिश्चित बनेको उनीहरुको दुःखेसो छ ।

बुधबार सारिएको मतदान पनि स्थगित, चुनाव अनिश्चित
पिएनमा बुधबार हुने भनिएको मतदान पनि स्थगित गरिएको छ । अब अर्को मिति नतोकिएसम्म पिएनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भएको हो ।
संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको कारणले भोलि हुने भनिएको मतदान स्थगित भएको निर्वाचन अधिकृत प्राध्यापक डा. पोखरेलले बताए ।

‘भोलिको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बाधा उत्पन्न भएकाले सर्वपक्षीय छलफलद्वारा स्ववीयु निर्वाचनको अर्को निर्वाचन मिति तय गर्ने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ’, उनले भने ।
मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने भनिएको स्ववियुको निर्वाचन मतपत्र छपाइमा त्रुटि भएपछि सुरु हुनै सकेन । निर्वाचन समितिको गम्भीर लापरवाहीले मतपत्र त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गर्दा मतदान सुरु भएको थिएन ।
निर्वाचन समितिले मतपत्रमा अखिल छैठौंको तर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन सुनारलाई मतदान गर्नलाई कोष्ठ राखिएको थिएन ।
यसलाई निर्वाचन समितिले आत्मालोचना गरेको जनाउदै बुधबार विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मलाई तोकिएकोमा स्थगित गरिएको थियो ।

पृथ्वीनारायण क्याम्पसमा नौ हजार २७० मतदाता रहेका छन् ।
स्ववियु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् ।
स्ववियु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा होमिएर प्रतिस्पर्धा गर्दै छन् ।
दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछन्। सभापति, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् ।


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो