स्याङ्जाको वालिङ नगरपालिका –५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।
पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।
‘वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ’, मल्लले भने, ‘पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।’ फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पुर्याएका छन् । फर्ममा हाल २०० बढी घार रहेका छन् ।
जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उनले बताए । जङ्गलको मह प्रतिकेजी रु एक हजार ५०० र तोरीको मह प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको मल्लले बताए ।
‘चालु आर्थिक वर्षमामात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु । त्यसबाट रु १३ लाख आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको रु ८०० का दरले र टुनीको घारसहित रु नौ हजारका दरले बिक्री गर्ने गरेका छौँ । चालु आवमा ३०० फ्रेम मौरी बिक्रीबाट रु दुई लाख ४० हजार आम्दानी भएको छ’, उनले सुनाए ।
फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उनलाई साथ दिएका छन् । स्थापनाकालदेखि हालसम्म रु २५ लाख लगानी भएको उनले बताए ।
‘यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ’, उनले भने, ‘उद्यमशिलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको हुँ ।’
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ