फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले शुक्रबार ती कार्यालय औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने जिम्मेवारी सबैको साझा भएको बताउँदै उनले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
निर्वाचन आयोगले जिल्ला अदालत स्याङ्जाका न्यायाधीश गौतमलाई स्याङ्जाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत कार्यालयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालय परिसरमा स्थापना गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय वालिङ नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचन अधिकृतको जिम्मेवारी कानुन उपसचिव ऋषि पौडेललाई दिइएको छ । कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
दुवै कार्यालय सञ्चालनमा आएसँगै उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, सामग्री व्यवस्थापन तथा भण्डारणदेखि मतगणनासम्मका सम्पूर्ण कार्य यही कार्यालयमार्फत हुने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पनि निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले निर्वाचन सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिताप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । निर्वाचन आयोगका अनुसार दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । जसमध्ये एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला र एक जना अन्य मतदाता छन् ।
क्षेत्र नम्बर–१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर–२ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । जिल्लाभर १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु