स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

Syangja-journalists-commit-to-following-election-code-of-conduct

स्याङ्जामा क्रियाशील पत्रकारहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले सदरमुकाममा आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषणमार्फत निर्वाचन सफल बनाउन सहयोग गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको उल्लेख गरे । “प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन पत्रकारहरू पूर्ण रूपमा आचारसंहितामा बाँधिनेछौं,” उनले भने ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले पत्रकारमार्फत प्रवाह हुने सूचना नागरिकका लागि अत्यन्त विश्वासिलो हुने भन्दै सही र सन्तुलित सूचनाको अपेक्षा व्यक्त गरे । सबै पक्षको सहकार्य भएमा मात्र निर्वाचन सभ्य र सफल हुने उनको भनाइ थियो ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गर्न पत्रकारको भूमिका निर्णायक हुने बताए । प्रशासन र सञ्चारकर्मीबीचको सहकार्यले निर्वाचन प्रक्रिया अझ सहज हुने उनको धारणा थियो ।

छलफलमा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत ऋषि पौडेल, निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदी, प्रहरी प्रमुख दधिराम न्यौपाने, पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्थाहरूको पूर्ण पालना गर्दै स्वतन्त्र, निष्पक्ष र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नम्बर २ मा तीन स्वतन्त्रसहित १२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

जिल्लामा कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष मतदाता १ लाख २२ हजार ४६४, महिला १ लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता छन् । स्याङ्जामा १९९ मतदानस्थलअन्तर्गत ३२२ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds