मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !

मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !

elon-musk-moon

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बसाल्ने दीर्घकालीन महत्त्वाकांक्षालाई केही पछाडि सार्दै अब चन्द्रमामा स्थायी मानव बस्ती निर्माणलाई आफ्नो तत्कालीन प्राथमिकता बनाउने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले स्पेसएक्सले चन्द्रमामा अब आफैँ विस्तार हुने सहर बनाउने लक्ष्य तय गरेको बताएका थिए ।

मंगल ग्रहमा यस्तै बस्ती बनाउन २० वर्षभन्दा बढी लाग्न सक्ने तर चन्द्रमामा भने १० वर्षभित्रै सम्भव हुन सक्ने उनले बताए । मंगलमा यात्रा गर्न हरेक २६ महिनामा मात्र ग्रहहरूको अनुकूल अवस्था मिल्ने र यात्रा नै करिब ६ महिना लाग्ने भए पनि चन्द्रमामा भने हरेक १० दिनमा प्रक्षेपण सम्भव र दुई दिनमै पुग्न सकिने उनको भनाइ छ । आफैँ विस्तार हुने सहर भनेर आफूले ठ्याक्कै के अर्थ लगाएको भनेर उनले केही पनि भनेका छैनन् । यो योजना नासाको चन्द्र कार्यक्रमसँग कति मिल्दोजुल्दो छ भन्ने पनि स्पष्ट गरिएको छैन ।

मंगल ग्रहमा सहर बसाल्ने योजना पूर्ण रूपमा नछोडेको भन्दै पाँचदेखि सात वर्षभित्र त्यसतर्फ काम सुरु गर्ने मस्कले प्रस्ट्याए । गएको मे महिनामै उनले २०२६ को अन्त्यसम्म स्पेसएक्सले पहिलो मानवविहीन स्टारसिप मंगलमा अवतरण गराउने दाबी गरेका थिए । पछिल्ला वर्षहरूमा मस्कले मंगललाई मानव अस्तित्वको ‘बीमा नीति’ भन्दै सम्भावित महाप्रलयबाट बच्न स्थायी उपनिवेश आवश्यक रहेको तर्क गर्दै आएका थिए । तर नासाको प्राथमिकता चन्द्रमा हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा २०२४ भित्र चन्द्रमामा फर्किने लक्ष्य राखिए पनि अहिले नासाले यो लक्ष्यको समय थपेर २०२८ मा पुर्‍याएको छ । यो लक्ष्य सफल भयो भने अपोलो १९७२ पछि चन्द्रमामा यो पहिलो मानव अवतरण हुनेछ ।

मस्कले विगतमा नासाको आर्टेमिस कार्यक्रमलाई ध्यान भड्काउने काम भन्दै आफू सीधै मंगल जाने बताएका थिए । तर अहिले उनले आफ्नो अडान फेरेका छन् । यस परिवर्तनको पृष्ठभूमिमा स्पेसएक्सले हालै मस्कको अर्काे कम्पनी एक्सएआई खरिद गरेर विश्वकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बन्ने तयारी गरिरहेको छ ।

नासाको चन्द्र अवतरणका लागि स्पेसएक्ससँग करिब ३ अर्ब डलरको सम्झौता छ । जसअन्तर्गत स्टारसिपलाई चन्द्र ल्यान्डरका रूपमा प्रयोग गरिनेछ । यही प्रणाली मस्कले मंगल यात्राका लागि समेत डिजाइन गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds