प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी

घटना

प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी

maldhunga

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाबाट सोमबार राति कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका टिपरका सहचालक अझै फेला परेका छैनन् ।

अस्थायी प्रहरी पोष्ट मालढुंगाको टोलीले टिपरको जाँच गर्नेक्रममा २४ वर्षीय सहचालक विशाल विक भागेपछि प्रहरीले पिछा गरेको थियो । सोमबार राति करिब ११ बजे जलजला गाउँपालिकाबाट बागलुङतर्फ जाँदै गरेको ग १ क ५२४४ नम्बरको टिपरलाई प्रहरीले रोकेर खानतलासी गर्दा सहचालक विक भागेका थिए । उनी जलजला गाउँपालिका–८ नाङलीवाङका स्थानीय बासिन्दा हुन् ।

घटनालाई प्रत्यक्ष देखेकी एक बालिकाले रातको समयमा सादा पोशाकको प्रहरीले पछि पछि लखेटेको र अर्को पोशाकसहितको प्रहरीलाई पनि बोलाएको एक भिडियोमा बताएकी छन् । विशाल*का आफन्त तथा स्थानीयवासीले प्रहरीले लखेटेका कारण आत्तिएर नदीमा हाम फालेको आरोप लगाउँदै पोखरा–बाग्लुङ राजमार्ग अवरुद्ध गरेका छन्।

परिवारजनले प्रहरीले खानतलासीको बहानामा उनलाई मर्न बाध्य बनाएको आरोप लगाउँदै मंगलबार बिहानैदेखि सडक अवरुद्ध गरी नाराबाजी गरेका हुन् । प्रहरीले बिहान सडकमा उत्रिएका आफन्तहरुलाई हटाउँदै केहीबेरका लागि सडक सञ्चालनमा ल्याएको थियो । तर त्यसपछि पुनः पटक–पटक सडक अवरोध हुँदै आएको छ ।

गएरातिदेखि नै जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वार्टर चण्डिका गणबाट विपद् व्यवस्थापन टोली परिचालन गरी खोजीकार्य जारी राखिएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीका अनुसार र्‍याफ्ट बोट तथा अन्य उद्धार सामग्रीसहित कालीगण्डकी किनारमा पुनः व्यापक खोजतलास भइरहेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज खड्काको नेतृत्वमा गोताखोर टोलीसमेत परिचालन गरी खोजी कार्यलाई तीव्र बनाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

‘मोदीबेनी घाटसम्म र र्‍याफ्ट बोटबाट खोजी गर्‍यौं’, उनले भने, ‘गोताखोरको टोलीले पनि हाम फालेको भनिएको मालढुंगा वरिपरी खोजी जारी राख्यो, फेला पार्न सकिएको छैन ।’ पानी परेपछि तत्कालका लागि खोजीकार्य रोकिएको उनी बताउँछन् ।

प्रहरीले भने लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा टिपर जाँच गर्ने क्रममा उनी भागेर नदीमा हाम फालेर बेपत्ता भएको प्रतिक्रिया दिएको छ । घटनामा संलग्न भनिएका दुई जनामध्ये चालक पनि फरार रहेका छन् भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ