राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

Syangja launches new tourism campaign

स्याङ्जा जिल्ला प्रवेश गर्ने प्रमुख नाका राम्दी–गल्याङबाट जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्वागत तथा सुरक्षित पर्यटन सचेतना अभियान सुरु गरिएको छ ।

अभियानको पहिलो दिन नै भारत लगायत विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई स्वागत गर्दै स्याङ्जाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यबारे जानकारीमूलक सामग्री वितरण गरिएको थियो । जिल्लाको पर्यटन सम्भावना चिनाउने र पर्यटकलाई स्याङ्जातर्फ आकर्षित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ ।

अभियान अन्तर्गत पर्यटकलाई सुरक्षित यात्रा, पर्यटकमैत्री व्यवहार, वातावरण संरक्षण तथा जिम्मेवार पर्यटनसम्बन्धी सन्देशसमेत प्रवाह गरिएको छ । स्याङ्जालाई केवल मार्गको जिल्ला नभई घुम्न योग्य गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासस्वरूप कार्यक्रम अघि बढाइएको एकीकृत सेवा कार्यालय स्याङ्जाले जनाएको छ ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले पर्यटकलाई जिल्लाका आकर्षक गन्तव्यबारे जानकारी गराउँदै स्वागत गर्दा पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उनले यसले स्याङ्जाको सकारात्मक पहिचान निर्माणसँगै सुरक्षित यात्राको सन्देशसमेत प्रवाह गर्ने बताए ।

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा खण्ड साँघुरो र धेरै घुम्ती भएको क्षेत्र भएकाले यात्रु तथा पर्यटकको सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको छ ।

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि सचेतनामूलक अभियान उपयोगी हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार यात्रु तथा पर्यटकलाई ट्राफिक नियमको पालना, सावधानीपूर्वक सवारी सञ्चालन र सुरक्षित यात्रासम्बन्धी जानकारीसहित पम्प्लेट वितरण गरिनेछ ।

अभियानले वातावरणमैत्री पर्यटनको अवधारणालाई पनि प्राथमिकतामा राखेको छ । पर्यटकलाई स्वच्छता कायम गर्न, फोहोर व्यवस्थापनमा ध्यान दिन तथा प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ ।

“सुरक्षित यात्रा, जिम्मेवार पर्यटन र हार्दिक आतिथ्यतासहित स्याङ्जामा स्वागत छ” भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानलाई अस्थायी प्रहरी चौकीको सहकार्यमा निरन्तरता दिइने जनाइएको छ ।

कार्यक्रममा सहभागी केही भारतीय पर्यटकले यस्तो स्वागत र जानकारीमूलक अभियानले नेपाल भ्रमणलाई थप सहज र स्मरणीय बनाउने प्रतिक्रिया दिएका थिए ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहकार्यमा अभियान सुरु गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ