अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

Chief Administrative Officer’s statement after child labor-free declaration

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त स्थानीय तह घोषणा भएको छ । यससँगै अर्जुनचौपारी जिल्लाको तेस्रो, गण्डकी प्रदेशको छैटौं र देशकै १४औं बालश्रममुक्त स्थानीय तह बनेको छ ।

‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने नारासहित शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा बालश्रममुक्त घोषणा गरिएको हो ।

गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधिअनुसार आवश्यक मापदण्ड र सूचक पूरा गरेपछि घोषणा गरिएको जनाएको छ । यसक्रममा पालिकाभित्रका एक हजार ३१ घरधुरी, होटल तथा पसलको अनुगमन गरिएको थियो । साथै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

स्याङ्जाका ११ स्थानीय तहमध्ये यसअघि बिरुवा गाउँपालिका पहिलो र फेदीखोला गाउँपालिका दोस्रो बालश्रममुक्त स्थानीय तहका रूपमा घोषणा भइसकेका छन् । अर्जुनचौपारी तेस्रो स्थानीय तहका रूपमा थपिएको हो ।

अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको चेन्जमेकर क्लबकी अध्यक्ष सुप्रिया क्षेत्रीले गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरेकी थिइन् । उनले समुदाय, विद्यालय, अभिभावक र स्थानीय तहको साझा प्रयासले यो उपलब्धि सम्भव भएको बताइन् ।

‘बालबालिकालाई श्रममा लगाउनु भनेको उनीहरूलाई शिक्षा, स्वास्थ्य र विकासका अवसरबाट वञ्चित गर्नु हो । अब यो अवस्थालाई कायम राख्न सबैको निरन्तर साथ आवश्यक छ,’ उनले भनिन् ।

गाउँपालिका उपाध्यक्ष सपना गुरुङले घोषणा अन्तिम लक्ष्य नभई यसको प्रभावकारी कार्यान्वयन र निरन्तरताले मात्र वास्तविक उपलब्धि हासिल हुने बताइन् ।

बालश्रममुक्त घोषणा गाउँपालिकाका लागि थप जिम्मेवारी भएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले कतै बालश्रम देखिए सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन सबैलाई आग्रह गरे ।

राष्ट्रिय बालअधिकार परिषद्का बालश्रम अधिकृत बद्रीप्रसाद वाग्लेले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशका सबै स्थानीय तहलाई बालश्रममुक्त बनाउने लक्ष्य रहेको बताए । अर्जुनचौपारीले त्यस अभियानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।

गाउँपालिकाले गत असार २ गते बालश्रम अन्त्यका लागि प्रतिबद्धता जनाएको थियो । त्यसपछि कार्यपालिकाबाट निर्णय पारित गर्दै आवश्यक प्रक्रिया पूरा गरेपछि बालश्रममुक्त स्थानीय तह घोषणा गरिएको हो ।

स्याङ्जामा पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह छन् । हालसम्म बिरुवा, फेदीखोला र अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त घोषणा भइसकेका छन् । पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका तथा आँधीखोला, कालीगण्डकी र हरिनास गाउँपालिकाले भने अझै बालश्रममुक्त घोषणा गर्न बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ