स्याङ्जाको पुतलीबजार नगरपालिकाका केही वडामा रोपिएको धानबालीमा खपटे किराको संक्रमण देखिएपछि नगरपालिकाले किसानलाई सतर्क रहन आग्रह गरेको छ । नियमित कृषि अनुगमनका क्रममा वडा नम्बर ४, १३ र १४ का विभिन्न स्थानमा धानमा खपटे किराको प्रकोप देखिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाका अनुसार भर्खरै रोपिएको धानमा किरा देखिएको भन्दै किसानबाट सूचना आएपछि कृषि प्राविधिकसहितको टोलीले वडा नम्बर १४ को लामागे क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा धानबालीमा खपटे किराको संक्रमण पुष्टि भएको उनले बताए ।
खपटे किराले धानका पात खाइदिने भएकाले बालीमा क्षति पुग्ने जोखिम बढेको नगरपालिकाकी कृषि अधिकृत सुष्मा पनेरूले बताइन् । उनले धानका पात सुकेजस्तो देखिनु यस किराको मुख्य लक्षण भएकाले किसानले नियमित रूपमा खेतको निरीक्षण गर्नुपर्ने बताइन् ।
उनका अनुसार संक्रमण देखिएका क्षेत्रका कृषकलाई कृषि शाखाले आवश्यक प्राविधिक परामर्श दिइसकेको छ । प्रारम्भिक अवस्थामै किराको पहिचान गर्न सकेमा क्षति कम गर्न सकिने भएकाले खेत तथा वरपरका झारपात पूर्ण रूपमा हटाउन र खेतको नियमित निगरानी गर्न किसानलाई आग्रह गरिएको छ ।
नगरपालिकाको कृषि शाखाले खपटे किराको प्रारम्भिक संक्रमण देखिएका खेतमा निमयुक्त विषादी (एजाडिरेक्टिन ०.०३ प्रतिशत) दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्न सल्लाह दिएको छ ।
यदि किराको प्रकोप बढी देखिएमा सिफारिस गरिएका कीटनाशक लाम्डासाइहेलोथ्रिन ५ प्रतिशत (०.५ मिलिलिटर) वा मालाथियन ५० प्रतिशत (१.५ मिलिलिटर) प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने शाखाले जनाएको छ ।
विषादी प्रयोग गर्दा भने किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । मास्क, पञ्जा र सुरक्षात्मक चस्मा अनिवार्य लगाउन तथा बिहान वा साँझ हावा कम चलेको समयमा मात्रै विषादी छर्न नगरपालिकाले सुझाव दिएको छ ।
नगरपालिकाले समयमै रोग तथा किराको पहिचान गरी प्राविधिकको सल्लाहअनुसार व्यवस्थापन गर्न सके धानबालीलाई ठूलो क्षतिबाट जोगाउन सकिने जनाएको छ । साथै कुनै पनि असामान्य समस्या देखिए तत्काल कृषि शाखामा जानकारी गराउन किसानलाई आग्रह गरिएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते