काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध भद्रगोल बनाउने मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।
घिमिरेले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी हाल्नु हालेको जानकारी आएको र आफूहरुलाई प्रहरीले बोलाएको बताए । मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए ।
उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’
उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए । ‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।
यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।
पुरानो टिमले छोडेपछि भद्रगोलको लोकप्रियता ह्वात्तै घटेको छ भने सक्किगोनीले भने चाँडै लोकप्रियता कायम गरेको छ । सक्किगोनिका निर्देशक समेत रहेका अर्जुन घिमिरे पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको बताए ।
‘ती सबै क्यारेक्टर हाम्रा सिर्जना हुन्, त्यसमा मिडिया हबले दावी गर्नै मिल्दैन,’ उनले भने, ‘हामीले मिडिया हबसित गरेको सम्झौतामा पनि यो कुरा प्रष्ट उल्लेख छ ।’ त्यसो त मिडिया हबले बनाएका टेलिश्रृंखलामा स्थापित भएका थुप्रै कलाकारहरुले अहिले त्यहाँबाट निस्केर पनि त्यही क्यारेक्टरलाई निरन्तरता दिइरहेका छन् । मिडिया हबको मेरीबास्सैबाट स्थापित भएका सितारामक कट्टेलले धुर्मुसको रुपमा, केदार घिमिरेले माग्ने बुढाको रुपमा, विल्सनविक्रम राईले तक्मे बुढाका रुपमा अहिले पनि रंगमञ्चमा प्रस्तुति दिँदै आएका छन् । उनीहरुमाथि भने मिडिया हबले आपत्ति जनाएको छैन ।
यस विषयमा प्रश्न गर्दा धिताल भन्छन्, ‘कोमाथि उजुरी गर्ने कोमाथि नगर्ने भन्ने हाम्रो विषय हो । धुर्मुस, माग्नेबुढाहरुले गरेको क्यारेक्टरले हामीलाई असर गरेका छैन । त्यसैले उजुरी गरेनौं । सक्किगोनीका क्यारेक्टरले भने हाम्रो भद्रगोललाई असर गरेको छ ।’
उजुरीमा मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ ।
अनलाइन खबरले यो खबर ब्रेक गरेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ