तीन स्थानीय तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालिएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले ब्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकासम्म साइकल लेन निर्माणका लागि पहल गरेको हो ।
ब्यासको छाब्दीदेखि बन्दीपुरको रामकोट हुँदै आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरीसम्म साइकल लेन निर्माणका लागि पहल थालिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “बन्दीपुर गाउँपालिकाले नौ किलोमिटर साइकल लेन निर्माण गरिसकेको छ,” उनले भने, “ब्यासदेखि साइकल लेन निर्माण शुरु गरेर जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीसम्म साइकल लेन विस्तार गर्ने सोच राखेका छौ ।”
साइकल लेनमार्फत् पर्यटन र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान चलाइएको अध्यक्ष थापाले बताए । “साइकल लेनले ब्यासको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही, बन्दीपुरको रामकोट सामुदायिक घरबास, कोरिखा सामुदायिक घरबासलगायत अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई जोड्छ,“ उनले भने, “यसले तीन पालिकाकै पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौ ।” बन्दीपुर गाउँपालिकाले रु ११ लाखमा नौ किलोमिटर साइकल लेन निर्माण सम्पन्न गरेको छ । बन्दीपुरदेखि बाहुनभञ्ज्याङसम्म रु तीन लाख र बन्दीपुरदेखि रामकोटसम्म रु आठ लाखमा साइकल लेन निर्माण गरिएको छ । साइकल लेन निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् विपन्न वर्गलाई रोजगारी दिइएको थियो । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले साइकल लेन निर्माणमा ४४ जनालाई रोजगारी दिइएको जानकारी दिए।
साइकल लेन निर्माण भएपछि बन्दीपुर गाउँपालिकाले साइकल प्रतियोगिता गर्ने तयारी गरेको छ । यसअगाडि डुम्रे बन्दीपुर दौड प्रतियोगिता हुँदै आएकामा अब साइकल प्रतियोगिताको तयारी गरिएको अध्यक्ष थापाले जानकारी दिए । गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर नै अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रकोबीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने उनको भनाइ छ ।
सोही बमोजिम गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । उक्त पदमार्ग एक हजार एक सय मिटर सम्पन्न भइसकेको छ । गाउँपालिकाले टुँडीखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए । जमीनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।
बन्दीपुर गाउँपालिकाले तीन तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालेकामा ब्यास नगरपालिकाले प्रतिबद्धता जनाएको छ । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिकाको क्षेत्रमा साइकल लेन निर्माणका लागि नगरपालिका सकारात्मक रहेको बताए । “यो अभियान पर्यटन प्रबद्र्धनका लागि कोसेढुङ्गा हुने विश्वास गरेका छौ,” उनले भने । साइकल धावक चन्द्रबहादुर आलेले बन्दीपुरमा निर्माण गरिएको साइकल धावकको राम्रो सम्भावना रहेको बताए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’