सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ। हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ। आगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए।
गत वर्ष श्रमिकहरूको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि सरकारले न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न सकेको थिएन। अघिल्लो वर्ष कोभिड महामारीको विषम परिस्थितिका कारण श्रमिकहरुको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको प्रधानमन्त्री ओलीले बताए।
यस वर्ष पनि श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको भन्दै आगामी आर्थिक वर्षबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरे।
औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकार प्रतिवद्ध रहेको समेत प्रधानमन्त्री ओलीले बताए।
‘२०७५ मंसिर ११ गतेबाट राष्ट्रिय अभियानको रुपमा सुरू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र २ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।
वैदेशिक रोजगारीमा रहेकाहरूका लागि अनलाइन श्रम स्वीकृति लागू गरिएको उनले बताए। त्यस्तै, श्रम गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता गरी सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरिएको उनले बताए।
कोभिड महामारीका कारण स्वदेश तथा विदेशमा रहेका श्रमिकहरू जटिल अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री ओलीले कामको सुरक्षा र थप रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। काममा रहेकाहरूको न्यूनतम् पारिश्रमिक सुनिश्चितता गर्ने उनको भनाइ थियो।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार