काठमाडौँ । विगत दुई वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको सङ्ख्या बढ्न थालेको छ । जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो । जुम क्षमताअनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए । फेसबुक लाइभबाटसमेत धेरै मानिसले संस्कृत सिक्ने इच्छा देखाए ।
छ प्रदेशमा जुम प्रविधिबाट प्रशिक्षण सम्पन्न गरी जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गतेदेखि वाग्मती प्रदेशमा अन्तिम प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणका प्रमुख प्रशिक्षक महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा गुरुप्रसाद सुवेदी संस्कृत सिक्ने चाहना बढ्दै गएको पाइएको बताउछन्।
जुमबाट संस्कृत सिक्न चाहनेले शिक्षण सिकाइप्रति देखाएको अभिरुचि उत्साहजनक रहेको उनले बताए। गत वर्ष कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि देखि नै संस्कृत भाषा सिक्ने र संस्कृतमा लेखिएका ग्रन्थ पढ्न चाहनेको सङ्ख्या बढेको थियो ।
जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल घरघर र गाउँगाउँमा संस्कृत भाषा लैजाने योजनाअनुसार प्रशिक्षण सातै प्रदेशमा शुरु गरिएको बताउछन्। हिब्रु भाषा लोप हुन लागेकामा इजरायलीले त्यसको पुनरुत्थान गरेर राष्ट्रिय भाषाका रूपमा स्थापित गरेजस्तै संस्कृतलाई अघि बढाउन लागिएको उनले बताए ।
संस्थागत रूपमा शुरु गरिएका प्रशिक्षणमा मात्र होइन संस्कृत भाषा अध्ययन अध्यापन हुने नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विद्यापीठमा पनि संस्कृत भाषा सिक्न चाहने प्रशिक्षार्थीको सङ्ख्या बढेको छ । वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकाल विद्यापीठको संस्कृत भाषा प्रशिक्षणमा ४०० जनाले प्रशिक्षण लिइरहेको बताउछन्।
संस्कृत बाहेकका विषयमा माध्यमिक तह (दश जोड दुई) उत्तीर्ण गरेकाले छ महिनाको भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि संस्कृतमा स्नातक (शास्त्री) अध्ययन गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । वाल्मीकि विद्यापीठको प्रशिक्षणमा पूर्वन्यायाधीश, पूर्वसचिवलगायतको रुचि बढ्न थालेको प्राचार्य ढकाल बताउछन्।
प्रौढ र सेवा निवृत्तमा पनि संस्कृत भाषा सिकेर ऐतिहासिक, पौराणिक एवं ज्ञान विज्ञानका ग्रन्थ पढ्ने चाहना बढ्न थालेको छ । विगत दुई वर्षदेखि वाल्मीकि विद्यापीठमा संस्कृत भाषा प्रशिक्षण लिनेको सङ्ख्या बढेको विद्यापीठले जनाएको छ । भाषा प्रशिक्षणपछि प्रौढ उमेरका व्यक्तित्वले समेत शास्त्री अध्ययन गर्न थालेका छन् ।
अमेरिका र युरोपका देशमा संस्कृत भाषाप्रति आकर्षण बढ्न थालेपछि नेपालीमा पनि यसप्रतिको रुचि बढ्न थालेको हो । अमेरिकी वैज्ञानिक संस्था नासाले समेत अन्तरिक्षमा सहीरूपमा उच्चारण बुझ्न सकिने भाषा संस्कृत भनी प्रमाणित गरेपछि यसप्रति विश्वमै आकर्षण बढ्न थालेको छ । संस्कृतलाई देवभाषाका रूपमा नेपाल, भारतलगायत दक्षिण एशियाका देशमा लिने गरिन्छ ।
विसं २०५८ सम्म कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा संस्कृत पढाइ हुन्थ्यो । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले संस्कृतका पुस्तक जलाउने, संस्कृतका शिक्षकमाथि आक्रमण एवं हत्या गर्ने धम्की दिएपछि पठनपाठन रोकिएको थियो । संस्कृत भाषाप्रति विश्वमै आकर्षण बढ्न थालेकाले नेपालमा फेरि अनिवार्य गरिनुपर्ने माग जयतु संस्कृतम्लगायत संस्थाले गर्दै आएका छन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प