दमौली । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् । असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउँपालिका–६ का दीर्घबहादुर भण्डारीले बताए। वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेको उनले जानकारी दिए।
धान रोपेको चार दिनमै खेत बगरमा परिणत भएको छ । उनले भने, “यसपालिको बाढीले रोपेको धान पूरै सखाप भयो । फेरि रोपाइँ गर्नका लागि न बीउ छ, न त खेत नै ।” खेत रोप्दा बीउ र ज्याला गरी रु २० हजारभन्दा बढी खर्च भएको उनले बताए।
उत्पादन हुने धान बेचेर गुजारा टार्दै आएका भण्डारीले यस वर्ष आफैँलाई पनि जीविकोपार्जन गर्न समस्या हुने गुनासो गरे। खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमीन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ता पनि थपिएको छ । मङ्गलबार राति आएको बाढीले खेत बगर बनाएपछि यहाँका १०० बिघाभन्दा बढी खेत डुबानमा परेको छ ।
अर्का कृषक शिव भण्डारीले खेत डुबानमा परेर खेतमाथि खोला बगिरहेको बताए। “खेत डुबानमा परेर खेतमा खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ”, उनले भने। खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उनको गुनासो छ । “अब धानको बीउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बीउ रोप्न मिल्दैन”, उनले भने।
उनका अनुसार रोपाइँमा करिब रु १० हजार खर्च भएको थियो । रोपेको एक साता नबित्दै उहाँको खेत बगर बनेको छ । “ट्र्याक्टरलाई मात्र रु सात हजार दिएको छु, रोपार, आली लगाउने खेताला खोज्दा खर्र्च भयो । आफ्नो दुःखको त कुरै छाडौँ”, उनले भने “लगानी खेर गयो ।”
तटबन्धन तथा बाढी रोकथामको अभावमा बर्सेनि बाढीले दुःख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रूपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने किसानको माग छ ।
कृषि ज्ञान केन्द्र तनहुँका अनुसार म्याग्दे, व्यासलगायत अन्य केही पालिकामा धान खेतमा क्षति पुगेको छ । मुचुल्कासहित क्षति विवरण सङ्कलन गर्न थालिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए। “वडागत रूपमा क्षति सङ्कलन गर्ने र सङ्कलित विवरण गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेस गर्छौँ ।” तनहुँमा बुधबारसम्म ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल