फलोअपः फेदिखोलाका तीन वडामा डेढ महिनापछि बिजुली, मिडिया गुहारेपछि समस्या समाधान

फलोअपः फेदिखोलाका तीन वडामा डेढ महिनापछि बिजुली, मिडिया गुहारेपछि समस्या समाधान

bidhyutt syan

स्याङ्जाको फेदीखोला गाउँपालिकाका तीन वडामा डेढ महिनापछि बिद्युत आपूर्ति नियमित भएको छ । सेती दोभान बिद्युत् उत्पादन तथा वितरण सहकारी (सामुदायिक) अन्तर्गतको ट्रान्सफर्मर जलेको डेढ महिनापछि बल्ल फेरिएको हो ।

ट्रान्सफर्मर जलेको डेढ महिना बित्दा पनि प्राधिकरणले ट्रान्सफर्मर मर्मत तथा बदली गरेको थिएन । पटक पटक डेलिगेशन जाँदा पनि ‘ट्रान्सफर्मर कुनै हालतमा प्राधिकरणले दिँदैन’ भन्दै हेपाहा तरिकाले अघि बढेका नेपाल विद्युत् प्राधिकरण, स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलीप मरासिनी मिडिया पुगेपछि मात्र गलेका हुन् ।

फेदीखोला–४ बडाचौरसहित १ नं. र २ नं. का वडाबासीले डेढ महिना सास्ती खेपेसँगै प्राधिकरणको गैरजिम्मेवार हर्कतबारे पोखराबाट स्याङ्जा पुगी गण्डकन्यूज र पोखरान्यूजले समाचार प्रकाशन गरेको थियो ।

मंगलबार समाचार तथा भिडियो सामाग्री सार्वजनिक भएपछि बुधबार नै प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराएको स्थानिय उपभोक्ता डिल्लीराम पौडेलले बताए । तर, बुधबार ठूलो पानी परेपछि उपभोक्ता र कर्मचारीको सहयोगमा बिहीबार बिहानै जडान गरिएको उनले बताए । ट्रान्सफर्मर फेरिएसँगै बिजुली बाल्न, बालबच्चाहरूले अनलाइन पढ्नदेखि तथा कुटानी पिसानीका कार्यहरू सञ्चालन गर्न सहज भएको छ ।

६ वर्षपछि ५० केभिए क्षमताकै ट्रान्सफर्मर उपलब्ध

तीन वटा वडामा विद्युत आपूर्ति बन्द हुँदासमेत प्राधिकरण पन्छिने एउटै तर्क थियो ‘यी क्षेत्र सामुदायिक विद्युत अन्तर्गत पर्दछन् । उनीहरुको लापरबाही देखिएकाले प्राधिकरणले ट्रान्सफर्मर मर्मत वा बदली गर्दैन । सामुदायिक वितरक संस्थाले नै गर्ने हो ।’

तर, ट्रान्सफर्मर पड्किएको यो पहिलो पटक होइन । किनभने ५० केभिएको ट्रान्सफर्मर झिकेर प्राधिकरणले २५ केभिए राखेपछि यो समस्या निम्तिएको हो । अहिलेसम्म ४ पटक २५ केभिए ट्रान्सफर्मर बिग्रिएको छ । ५० केभिए क्षमताको नराखिदिँदा पटक-पटक यस्तो समस्या गाउँबासीले भोगे । यो प्राधिकरणकै कारण भएकाले अहिले पनि ट्रान्सफर्मर प्राधिकरणले नै फेर्नुपर्ने जिकिरका साथ उपभोक्ता पुगेपछि बल्ल मिडियाको बलमा उनीहरुले न्याय पाएका हुन् ।

प्राधिकरणले ६ वर्ष भन्दा बढी समयपछि सामुदायिकलाई ५० केभिएको ट्रान्सफर्मर उपलब्ध गराएको सामुदायिकका पूर्व कर्मचारी समेत रहेका उपभोक्ता डिल्लीराम पौडेलले बताए । ‘प्राधिकरणले चलिरहेको ५० केभिएको ट्रान्सफर्मर झिकेर २५ को हाल्दा वर्षेनी उपभोक्ताले दुःख पाएका थिए’ पौडेलले भने – ‘६ वर्षपछि ५० केभिए कै ट्रान्सफर्मर पाएका छौँ , राहतको महशुस भएको छ ।’

उक्त सामुदायिक संस्थाका सचिव महेन्द्रप्रसाद ढकालले असारको अन्तिम सातामा ट्रान्सफर्मर जलेपछि पटक पटक प्राधिकरण धाउने र निवेदन दिने गरेको भए पनि समाचार प्रकाशन हुनासाथ बुधबार प्राधिकरणले ५० केभिएको ट्रान्सफर्मर उपलब्ध गराएको बताए ।

‘हाम्रोमा शुरुमा ५० केभिएको ट्रान्सफर्मर थियो, पछि उपलब्ध गराउने सर्तमा प्राधिकरणले चलिरहेको ५० केभिएको ट्रान्सफर्मर लगेर २५ केभिए क्षमताको ट्रान्सफर्मर हालेको थियो’, सचिव ढकालले भने – ‘त्यसपछि २५ केभिए क्षमताका ट्रान्सफर्मर जल्ने क्रम शुरु भयो, अहिले बल्ल लामो समयपछि ५० केभिए कै ट्रान्सफर्मर हामीले पाएका छौँ ।’

‘हामी जाने क्रममा हाकिमले ट्रान्सफर्मर बनाइदिन्न भनेर धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको थियो’, अर्का उपभोक्ता रामचन्द्र पौडेलले भने, हामीलाई हेटौडामा ट्रान्सफर्मर बन्छ भनेर पनि महिनौँ सम्म ढाँटियो तर समाचार प्रकाशन भएपछि पोखराको औद्योगिक क्षेत्रबाट दुई दिनमै ट्रान्सफर्मर आयो, यो उपभोक्तालाई हेप्ने प्रवृत्ति हो’।

हाकिमले आफूहरूलाई मान्छेको व्यवहार नै नगरेको भन्दै पौडेलले समाचार आएपछि ट्रान्सफर्मर जडान भएर न्याय पाएकोमा खुसी व्यक्त गरे ।
सम्बन्धित समाचारः

स्याङ्जाका विद्युत हाकिम मरासिनीको चरम लापरबाही, फेदीखोला बडाचौरमा डेढ महिनादेखि विद्युत अवरुद्ध [भिडियो]

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ