पोखरा । पत्रकार हरिप्रसाद बास्तोलालाई यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले बिहीबार आयोजना गरेको वार्षिकोत्सव समारोहमा गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले उनलाई पुरस्कृत गरिन् । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ ।
पत्रकार बास्तोला राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् । गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार स्वास्थ्य बिटमा गण्डकी प्रदेशलाई केन्द्र बनाएर क्रियाशील १ पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री गुरुङले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको बताइन् । महामारीले यो क्षेत्रमा निकै ठूलो चुनौती थपेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै सरल र सुलभ तवरले स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिन् । उनले स्वास्थ्य क्षेत्रमा कुनै अव्यवहारिक नीति, नियम, कानुन भए, तिनलाई परिमार्जन गरिने बताइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवं चिफ कन्सल्टेन्ट फिजिसियन प्राडा बुद्धिबहादुर थापाले पछिल्लो समय नेपालले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको बताए । उनले राजधानी र विदेश पठाउनुपर्ने रक्त परीक्षण पोखरामै उपलब्ध गराउने युआरएल जस्ता प्रयोगशाला हरेक प्रदेश र जिल्ला जिल्लामा स्थापना हुनुपर्ने विचार राखे ।
प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङले राज्यका नीति, नियम र मापदण्ड पालना गरी युआरएलले गुणस्तर सेवामा छुट्टै पहिचान बनाएको बताए । युआरएल पत्रकारिता पुरस्कार छनोट समिति संयोजक दीपेन्द्र श्रेष्ठले साढे ३ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार बास्तोलालाई पुरस्कृत गर्दा पत्रकारिता क्षेत्र नै सम्मानित भएको बताए । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले प्रदेश सरकारलाई बिमामा सबै प्रदेशवासीलाई आवद्ध गर्न र नमुना प्रदेश बनाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले युआरएलले गुणस्तरीय सेवासँगै सेवा प्रवद्र्धनका लागि सामाजिक कार्य र सञ्चार माध्यमसँग सहकार्य गरी नमुना काम गरेको जनाइन् । अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले स्वास्थ्य क्षेत्रमा सरकारभन्दा ३ गुणा बढी हिस्सा निजी क्षेत्रको भए पनि सरकार निजी क्षेत्र मैत्री हुन नसकेको गुनासो गरे ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले राज्यका मापदण्ड पालना गर्दै गुणस्तरीय सेवा दिएर प्रदेशलाई प्रयोगशाला क्षेत्रमा आत्मनिर्भर बनाउन लागिपरेको जनाए । उनले ५ करोडभन्दा बढी लगानी गरी हालै पोखराको हस्पिटलचोकमा शाखा सञ्चालन गरिएको उल्लेख गरे ।
युआरएलका निर्देशक सन्दीप अर्यालले आफूहरुले सेवापछिको नाफामा विश्वास गर्ने जनाए । उनले गुणस्तरीय सेवा दिन कर्मचारीलाई तलिम, क्वालिटी अडिट जस्ता विधि अपनाइएको जानकारी दिए । युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले संसारकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष जनशक्ति र सेवाग्राहीको विश्वासले युआरएल यहाँसम्म आएको बताए ।
यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलले शाखा कार्यालय हस्पिटलचोकसहित दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा सेवा विस्तार गरेको छ । हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन