रञ्जन अधिकारी, पोखरा । आँगनसम्म लटरम्मै फलेको सुन्तलाको हाँगो जोगाउनै मुस्किल हुन्थ्यो भरतपोखरीकी सोविता सेढाईंलाई । दुई वर्ष देखि त मरेका सुन्तला बोट कसरी व्यवस्थापन गर्ने नै चिन्ता छ । ‘अहिले त तिहारमा भाग राख्ने सुन्तला खोज्न पनि पाखो चाहार्नुपर्ने अवस्था आयो’ – आगँन छेउको फेद मात्रै बाँकी रहेको सुन्तला ठुटो देखाउँदै उनले भनिन्– ‘यो बोटले नै वर्षमा १५ हजारसम्मको सुन्तला फलाउथ्यो । अघिल्लो साल काट्न लगाएँ ।’
भरतपोखरी १७ बागमाराकी सेढाईको बारीमा रहेको सुन्तलाको बोटमा अहिले सुन्तला फलेको छ भन्ने नाम मात्रै हो । दुई वर्षको छोटो अवधिमै यस्तो अवस्था आउनुको एकमात्र कारण हो– सुन्तलामा देखा परेको ‘सिट्रस ग्रिनिङ पोजिटिभ’ भाईरस । दुई वर्षदेखि सुन्तलाको बोट एक्कासी पहेंलो हुँदै हाँगो सुक्दै गयो । ‘बोट मर्दै गयो । एउटै आधा पाउको दाना जत्रो फल्थ्यो, अहिले त एकदमै सानो छ ।’ – वर्षमा दुई लाख जतिको सुन्तला बेच्दै आएकी उनले थपिन्– ‘यत्तिको पनि यही वर्ष होला। अर्को वर्षदेखि रुख मर्छन्, घाँस मात्र बाँकी रहन्छ ।’ सेढाईंको पाखोबारीमा चारसय जति बोट सुन्तला थिए । यति छोटो समयमा सुन्तला उत्पादन ह्वात्तै घट्यो ।
सेढाईंकै श्रीमान प्रेमराज सेढाईं जेटीए भएकाले ३० वर्ष अघितिर व्यवसायिक रुपमा सुन्तला खेती सुरु भएको हो । सेढाईंको घर रहेको चैनपुर पाखो सहित जुके लगायतका क्षेत्र पछि सुन्तलाको पकेट क्षेत्र हुनुमा स्व. सेढाईंकै योगदान रहेको बताउँछन् अर्का सुन्तला कृषक चन्द्रप्रसाद पौडेल । पछि ५२ हेक्टर क्षेत्र जमिनमा सुन्तला खेती फस्टायो । पौडेलको पनि २०५० साल तिर लगाईएका पाँच सय बोट सुन्तला सबै मरेका छन् । ‘अब त सबै शुन्य भयो भन्दा पनि हुन्छ । घरमै किन्न आउने बाहेक ठेकेदारसँग मात्रै चार लाख लिईन्थ्यो । सकियो अब’ – उनले निराशाका शब्द पोखे ।
चैनपुर क्षेत्रमा अहिले केशर प्रसाद निर्दोषी र यज्ञ अधिकारीको बारीमा मात्रै एक दर्जन जति बोट बचेका छन् । पाँच लाख कमाउने गरेका निर्दोषीले यो वर्ष एक लाख जति कमाउने अपेक्षा गरेका छन् । उनका अनुसार तीन वर्षअघिदेखि विस्तारै उत्पादन घटेको हो । सुन्तला मर्न थालेपछि कास्की जिल्लाका विभिन्न १० वटा बगैँचाका सुन्तला परीक्षणका लागि पठाएकोमा सबैभन्दा पहिले भरतपोखरीका चन्द्रप्रसाद पौडेल र शालिकराम अधिकारीको बगैँचामा ग्रिनिङ भाईरस पोजिटिभ देखिएको कृषि विकास कार्यालय कास्कीले जनाएको छ ।
कास्कीको पकेट क्षेत्र भरतपोखरी १७ स्थित चैनपुर र जुके लगायतका ५२ हेक्टर जमिन क्षेत्रको व्यवसायिक सुन्तला खेती संकटमा परेको छ । सिट्रस ग्रिनिङ पोजिटिभ’ भाईरसका कारण दुई वर्ष बीचमा सुन्तलाको उत्पादन ह्वात्तै घटेको छ । कृषकका मुस्किलले एक दर्जन बोट मर्नबाट बाँकी छन् ।
जिल्लामा पछिल्लो समय ग्रिनिङ भाइरसका कारण सुन्तला सखाप हुने अवस्थामा पुगिसकेको छ । नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा यो भाइरस देखा परेको थियो । अहिले देशभर नै यो भाइरसले सुन्तला बिनास गरेको किसानहरुले बताएका छन् । भाइरसका कारण सुन्तला विनाश हुँदै गएपछि कृषि विकास कार्यालयले यो बर्षपनि थप बगैँचाको परीक्षण गर्ने र यसैका आधारमा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने तयारी थालेको थियो ।
अघिल्लो वर्षदेखि नै सुन्तला खेती सुदृढिकरण भन्दै तीन वर्षे योजना अनुरुप कार्यालयले भाईरस विरुद्धको औषधि, भिटामिन पनि कृषकहरुलाई वितरण गरेको छ । तर यसले काम नगरेको उनीहरुले बताए ।
स्थानीय युवा अशोक सेढाईंले भने– ‘बोटहरु मर्न थालेपछि जिवातु नामक औषधि प्रयोग भयो । पछि तीन वर्षसम्मको योजना भन्दै कृषि कार्यालयले प्रयास ग¥यो । केहि प्रभाव परेन । बोटहरु अब ब्युँतनै नसकिने गरी मरे ।’
सेढाईंले बुबाको पालादेखि व्यवसायिक रुपमा विस्तार भएको सुन्तलाखेती माँसिदा दुःख लागेको बताउँदै अब सुन्तलाको विकल्पमा पाखोबारीमा के खेती लगाउने भन्ने कुरा कृषि प्राविधिकले नै सिफारिस गर्नुपर्ने बताए । पीडित कृषकलाई अब सरकारले राहत तथा अनुदानको व्यवस्था गर्न पनि उनले माग गरे ।
कृषि कार्यालयले भाइरस लागेका बिरुवा हटाउनका लागि राहत समेत बितरण गरेको बताउँछ । जिल्लाका पकेट क्षेत्रभन्दा नयाँ क्षेत्रहरुमा सुन्तला खेती बिस्तारको योजना पनि बनाएको थियो । जिल्लाभर व्यवसायिक सुन्तला कृषकको संख्या ५० भन्दा बढि छैन । उनीहरुले वार्षिक ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । कास्कीको भरतपोखरी सहित कृष्ति र निर्मलपोखरीमा सबैभन्दा बढि सुन्तला उत्पादन हुन्छ । भरतपोखरीमा ५२ हेक्टर तथा कृस्तिमा ८४ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती हुन्छ ।
लेखनाथको बेगनास, हंसपुर, माझठाना, कालिका, सैमराङ, अर्मला, सिल्दुजुरे, पुम्दीभुम्दी, थुम्की, रुपाकोट लगाएतका क्षेत्रमा सुन्तला उत्पादन बढी हुने भएपनि भाइरसका कारण अहिले प्रायः सबै ठाउँबाट व्यवसायिक सुन्तला खेती ओरालो लागेको छ । सिट्रस र कत्ले किराका कारण सुन्तलाको बोट मर्ने समस्या सुरु भएको थियो । कास्कीको ८ सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । कास्कीमा गत वर्ष करीब ६ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यद्यपी, अनुकुल मौसम, सुन्तला खेती बिस्तार तथा सुन्तलाको पुरानो बगैचा सुधार गरिएका कारण कृस्ति क्षेत्रमा भने दुई वर्ष अघि भन्दा पोहोर साल सुन्तला उत्पादन बढेको थियो ।
सम्बन्धित खबर
१६ औं हिसान कास्की स्पोर्टस मिट जारी
पाँचौ युनिप्स खेल महोत्सवमा एथलेटिक्सका खेल सुरु, समापन आज
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
‘कन्दरा लाइभ कन्सर्ट’ पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रमा
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका