पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति

दुर्घटना

पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति

पाँच दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश, दुर्घटनाको कारण र विद्यालयका सवारीसाधनको सुरक्षा अवस्थाबारे अध्ययन गरिने

okhle pkr 28 acc (2)

पोखरा — पोखरा महानगरपालिका–२८ माझठानाबाट शुक्रबार बिहान विद्यार्थी बोकेर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महानगरपालिकाले समिति गठन गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित समिति गठन गरेको जानकारी दिए ।

शुक्रबार बिहान पोखरा–२८ को ओख्लेमा भएको दुर्घटनामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा विद्यार्थी, चालक तथा स्थानीयसहित २२ जना सवार रहेको महानगर प्रमुख आचार्यले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ ।

महानगरले गठन गरेको समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी छन् । समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन् ।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ । दुर्घटनाको वस्तुस्थिति पहिचान गर्नुका साथै विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र यस्ता दुर्घटना रोक्न अपनाउनुपर्ने उपायबारे सुझाव दिन पनि समितिलाई जिम्मेवारी दिइएको छ ।

महानगर प्रमुख आचार्यले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको पालना र प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्दै आचार्यले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ