हेर्नुहोस् यसरी भयो विस्फोट एमाले कास्की कार्यालय नजिक घरमै (भिडियो, फोटो फिचर)

हेर्नुहोस् यसरी भयो विस्फोट एमाले कास्की कार्यालय नजिक घरमै (भिडियो, फोटो फिचर)

Cover

रञ्जन अधिकारी पोखरा, ८ मंसिर / पोखरामा संयुक्त बाम गठबन्धनले चुनावी प्रचारका लागि स्थापना गरेको कार्यालयमै विस्फोट भएको छ । बाम गठबन्धनले पोखरा वडा नं. ९ मा प्रचारका लागि खडा गरेको कार्यालय अगाडि सटरमै विस्फोट भएको हो ।

अहिले शुक्रबार राति ६ बजेर १२ मिनेटमा अपरिचित समूहले गरेको विस्फोटमा मानवीय क्षति भएको छैन । तर सटरमा क्षति पुगेको छ । बल्बहरु फुटेका छन् । सटरको माथिल्लो भागमै प्वाल पर्नुका साथै घरको भित्ताहरुमा प्वाल परेको छ ।  कार्यालय रहेको कोठा माथि मानिस बस्ने गर्दछ । भाग्यवश ठूलो क्षति टरेको छ । आवाज भने एकदमै ठूलो आएको स्थानीयबासीले बताएका छन् । घटनाको १५ मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो ।

नेकपा एमालेको पार्टी कार्यालय सो घरबाट १५ मिटर दुरीमा रहेको छ । कास्की क्षेत्र नं. २ अन्तर्गत बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा रविन्द्र अधिकारी र प्रदेश सभा सदस्यमा राजकाजी गुरुङ करण उम्मेदवार छन् ।

बम विस्फोट भएको पक्की दुईतले घर अगाडि पाँच मिटरको दुरीमै लिला तामाङको खाजा पसल छ । उनका अनुसार दुई जना अपरिचित समूह सेतो रङको गाडीमा आएर केहि समय त्यहाँ रोकिएका थिए । उनीहरु गएको केहि मिनेटमै बम बिस्फोट भएको हो । तामाङले भनिन् – ‘सेतो गाडीमा दुई जना आए । एकछिन रोकिए । मलाई एकटकले हेरिरहे ? के हेरेको अनुहार नि देख्न पाको छैन कहिल्यै भनेँ । तर बम राखेर पो गएका रहेछन् ।’

उनले विस्फोट भएपछि ग्याँसको सिलिण्डर विस्फोट भएको ठानेपनि एकछिनमै सटरमा धुवाँ देखेको बताईन् । उनले यस्ता कार्य जो कसैले गरेपनि जनताको हितमा नरहेको बताईन् । ५०० मिटर टाढा बस्ने सुचिता थापाले ठूलो आवाजका साथ विस्फोट भएको जनाईन् । विस्फोटपछि स्थानीयको ठूलो भिड लागेको छ । मानव बसेकै घरको तल्लो तलामा यसरी बम विस्फोट भएपछि स्थानीय त्रसित छन् ।

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरी घटनास्थलमै रहेको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले अनुसन्धान भईरहेको बताएका छन् । उनले कुन बम विस्फोट भएको भन्नेबारे पुष्टि नभएको तर ठूलो आवाज भएकाले कुकर बम हुन सक्ने अनुमान गरे ।

देशैभर बहालवाला मन्त्रीदेखि, उम्मेदवार तथा पार्टी कार्यालयलाई लक्षित गरी बम विस्फोट भईरहेका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको भन्दै प्रहरीले उसका कार्यकर्तालाई पक्राउ गरेको छ । कास्कीमा पनि २७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

उम्मेदवार रविन्द्र अधिकारीले यस्ता कार्य जोकोहिले गरेपनि अपराधपूर्ण कार्यकलाप भएको बताए । उनले मान्छे बस्ने घरमा गरिएको विस्फोट अक्षम्य अपराध भएको उल्लेख गर्दै शान्तिपूर्ण हिसबाले विरोध गर्न तर नागरिक आतंकित नगर्न सुझाव दिए ।

घटना कसले र किन घटाएको बारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न उनले प्रहरीप्रशासनसँग अनुरोध समेत गरेका छन् ।

यस्तै, उम्मेदवार करणले जनताको विश्वासको मत लिन नसक्नेहरु यसरी कायरपूर्ण ढंगले नागरिककै जिउज्यानमाथि धावा बोल्ने हिसाबले अघि बढेको भन्दै घटनाको भत्र्सना गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ