स्याङ्जा, २७ मंसिर । स्याङ्जा अहिले महिला डोमिसनको जिल्लाका रुपमा चर्चामा आइसकेको छ । कुनै बेला पहिलो पटक महिला सिडिओ बनेर इन्दू शर्मा स्याङ्जा पुग्दा जसरी चर्चा भएको थियो, अहिले तीन महिलाका कारण स्याङ्जा पुनः चर्चामा छ । यो वर्ष स्याङ्जाको राजनीतिमा महिला छाएका छन् ।
६ महिनाअघि मात्र सम्पन्न स्थानीय चुनावमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा एमाले नेतृ सीमा क्षेत्री मेयरमा निर्वाचित भइन् । देशभरबाट निर्वाचित सीमित महिला मेयरको सूचीमा सीमा क्षेत्री सामेल भइन् । उनले कांग्रेसका नेता तुलसीराम रेग्मीलाई पराजित गरेकी थिइन् ।
स्थानीय चुनाव लगत्तै स्याङ्जामा महिलाका लागि अर्को खुसीको अवसर आयो । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा एमालेले दलित महिलालाई टिकट दियो । एमालेकी जिल्ला नेतृ सिता सुन्दास जिल्ला समन्वय समितिको प्रमुखका रुपमा अहिले जिल्लाका नेतृत्व गरिरहेकी छन् ।
पद्मा अर्यालको समेत बिजयले स्याङ्जामा यो वर्ष महिलाले सबै तहमा नेतृत्वको मौका पाएका छन् । पद्मा अर्याल ४ नम्बर प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र महिला हुन् । महिलाले पार्टी नेतृत्व गरेकै कारण स्याङ्जामा महिला नेतृत्व विकास सम्भव भएको उनले प्रतिक्रिया दिएकी छन् ।
नेपाली कांग्रेसभित्र शीर्ष बरियताका नेता एवं उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि एमालेकी युवा नेतृ पद्माकुमारी अर्याल चर्चामा छिन् ।
एमाले केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज अर्यालले गोपालमानबिरुद्ध चुनाव लड्न आँट गरेर खतरा मोलेकी थिइन् । गोपालमानले कांग्रेसका गढ रोजेर यसपटक सो क्षेत्रबाट चुनाव लडेका थिए ।
चापाकोट नगरपालिकाका ४ ओटा बुथ कब्जा पनि भए । पद्माकुमारी बुथ कब्जा रोक्न जाँदा आफैं कुटिइन्, मोबाइल फुटाइयो र उनलाई लखेटियो बुथबाट । उनले पुनः मतदानका लागि हार गुहार गरिन् । तर, गोपालमानको पावर अगाडि उनी निरीह बनिन् ।
लामो गलफत्तीपछि मतगणना शुरु हुँदा पद्माले शुरुदेखि नै अग्रता लिइन् । बुथ कब्जा भएको भनिएका चापाकोट नगरपालिकामा चार मतदान केन्द्रको मत गन्दा उनको अग्रता केही खुम्चियो । तर, गोपालमान अघि बढ्न सकेनन् । त्यसपछि स्याङ्जामा विजय उत्सव शुरु भयो, अन्ततः एमालेकी यी साहसी महिला नेतृले प्रभावशाली उपप्रधानमन्त्रीलाई पराजित गरिन् ।
पद्माकुमारी अर्यालको जितले यस अर्थमा पनि निकै चर्चा पाएको छ कि उनले कांग्रेस पार्टी र शेरवहादुर देउवा सरकारका शक्तिशाली पुरुष नेतालाई पराजित गरिन् । सत्ता र शक्तिसँग एउटी नारीको संघर्ष आफैंमा चुनौतिपूर्ण थियो, तर यो चुनौति उनले पार गरेकी छन् ।
पद्माले एमालेभित्र यसअघि नै पहिलो महिला जिल्ला अध्यक्ष भएर रेकर्ड बनाइसकेकी थिइन् । तत्कालिन ७५ जिल्लामध्ये एमालेबाट पहिलो पटक महिला अध्यक्ष त्यो पनि पार्टीभित्रको निर्वाचन जितेर बनेकी थिइन् उनी ।
यसपटक उनले चाहँदा समानुपातिकमा बस्न सक्थिन् । तर, कांग्रेसको गढमा कांग्रेसका शीर्ष नेतासँग चुनाव लड्न चाहिन् । पहिलोपटक गोपालमानलाई हार चखाइन् ।
अनलाईनखबर
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो