पोखरा, चैत ११ गते । यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ ।
मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यस पटक सरुभक्तलाई दिइने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर २२ हजार २२२ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरिने जानकारी दिए । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई पुरस्कार प्रदानका लागि सिफरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले जनाए ।
कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका ३ दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक सङ्ग्रह हो । उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ३ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।
उनको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । वि. सं. २०१२ भदौ तिजमा पोखराको बागबजारमा जन्मेका सरुभक्त हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । सिर्जनाको मूल्य खोज्ने कार्यक्रम टिकटमा मुक्तक सञ्चालनमा पनि सरुभक्तको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसकेका छन् । मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गरिँदै आएको छ ।
चैतको अन्तिम साता मुक्तक महोत्सव हुने
पोखरामा चैतको अन्तिम साता मुक्तक महोत्सव हुने भएको छ । मुक्तक मञ्च पोखराको आयोजना र रोट्रयाक्ट क्लव अफ हेमजाको सह-आयोजनामा यहि चैत २२, २३ र २४ गते तीन दिने ‘मुक्तक महोत्सव २०७४’ पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजना गरिएको हो ।
सिर्जनाको मूल्य दिलाउन ‘टिकटमा मुक्तक’ कार्यक्रमको उद्गम थलो पोखरालाई मुक्तक सहरका रुपमा स्थापित गर्ने अर्को प्रयास स्वरुप मुक्तक महोत्सव गर्न लागेको मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले बताए ।
महोत्सवको अवरमा ४० भन्दा बढीले मुक्तक वाचन गर्ने भएका छन् । काठमाडौं, पोखरा, चितवनसहित देशका विभिन्न जिल्लाका चर्चित मुक्तककारहरुले मुक्तक वाचन गर्ने अध्यक्ष प्राञ्जलले पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै, महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचनलगायतका कार्यक्रम हुने उनले बताए ।
महोत्सवको सफलताका लागि प्रायोजकहरुको खोजी भइरहेको आर्थिक उपसमितिकी संयोजक गौरी तमुले जानकारी दिईन् ।
सम्बन्धित खबर
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?