सार्वजनिक योजना पूर्णरुपमा कार्यान्वयन गरिनेछ: मन्त्री अधिकारी (गृह जिल्लामा आजका कार्यक्रम)

सार्वजनिक योजना पूर्णरुपमा कार्यान्वयन गरिनेछ: मन्त्री अधिकारी (गृह जिल्लामा आजका कार्यक्रम)

29598388_1438812496265190_2002277489499349120_n

गण्डक न्युज पोखरा, १७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयबाट सार्वजनिक गरिएका १६ बुँदे कार्ययोजना तोकिएकै समयमा पूर्णरुपमै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री भएपछि पहिलो पटक पोखरा आएका अधिकारीले कार्ययोजना कार्यान्वयन गर्दै पर्यटनबाट मुलुकको समृद्धि गर्ने बताए ।

प्रेस चौतारी कास्कीले पोखरामा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक स्थायित्वको सुनिश्चिततासँगै अब समृद्ध नेपालको यात्रा सुरु भएको बताए ।

‘मुलुकका सातवटै प्रदेशमा आन्तरिक स्रोत साधन परिचालन र राजश्व संकलनलाई प्रभावकारी बनाएर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेछ ।’ उनले भने– ‘निकट भविष्यमा सातै प्रदेशका पर्यटन मन्त्रीको भेला गरेर योजना तयार गरिनेछ ।’

पहाडी क्षेत्रमा निर्माण गरिएका विमानस्थल देखाउनका लागिमात्र नभएको बताउँदै उनले सम्भाव्यताका आधारमा सञ्चालन गरेर जनतालाई निरन्तर हवाई सेवा उपलब्ध गराइने पनि बताए । अहिले बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आएको छ ।

काठमाडौँको आसपासमा आन्तरिक उडानका लागि विमानस्थल निर्माण गरेर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको हवाइ चापलाई व्यवस्थित गरिने बताउँदै मन्त्रालयले अगाडि सारेका योजना सफल पार्न सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्न आग्रह पनि गरे । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नेपाल फाईन आर्ट मोबाइल एप सार्वजनिक

सोहि अवसरमा ललिलतकलाको सम्र्बद्धन, प्रबद्र्धन र बिकासका लागि नेपाल फाईन आर्ट मोबाइल एप आज सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा उड्यन मन्त्री रबिन्द्र अधिकारीले मोबाइल एप सार्वजनिक गर्दै नेपालको ललितकलाको विकासका लागि एप सहयोगसिद्ध हुने बताए ।

उक्त नेपाल फाईन आर्ट एपमा एप कला प्रर्दशनी, नेपालभरका आर्ट कलेजहरु, ग्यालरीहरु, नेपालका सम्पूर्ण कलाकारहरुको ब्यक्तिगत विबरण लगाएत ललितकला सम्बन्धि सम्पूर्ण जानकारी रहेको एपका संस्थापक नेपाल ललितकला प्रज्ञा प्रष्ठिानका प्राज्ञ नगेन सिहंले जानकारी दिए ।

अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी निर्मित पदमार्ग सञ्चालनमा

यसैबीच, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी निर्मित पदमार्ग शनिबारदेखि नै सञ्चालनमा आएको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग एवं स्थानीयवासीको जनश्रमदानमा निर्मित १.३ किलोमिटर पदमार्ग सञ्चालनमा आएको हो । पदमार्गको एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । मन्त्री अधिकारीले अपाङ्गता भएका व्यक्तिमा भिन्न भिन्न क्षमता हुने भएको बताउँदै इच्छाशक्ति र क्रियाशीलताबाट उनीहरूका प्रतिभा प्रष्फुटित बन्ने बताए ।

अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी निर्मित पदमार्गले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने बताउँदै उनले यसलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिए । अन्नपूर्ण गाउँपालिका वडा नं १ स्थित भूमेको थानबाट हिमालयन देउराली रिसोर्टसम्म निर्मित पदमार्गमा अपाङ्गता भएका पर्यटकले ह्विल चेयर र दृष्टिविहीनले सेतो छडीको सहयोगमा पदयात्रा गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अपाङ्गलाई लक्षित गरी निर्मित पदमार्गले नेपालजस्तो भौगोलिक विविधतायुक्त स्थानमा पनि यस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिने उल्लेख गरे ।

नयाँ पदमार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निर्मित पदमार्गको कूल तीन किलोमिटर पूरा गरिने बताउँदै मार्गमा अपाङ्गमैत्री शौचालयलगायतका व्यवस्था गरिने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले स्थानीयवासीको जागरुकता एवं सहयोगमा १.३ किलोमिटर अपाङ्ग लक्षित पदमार्ग बनेको बताउँदै कूल तीन किलोमिटर लम्बाइको यो पदमार्ग दक्षिण एशियामा नै नमूना बन्ने विश्वास व्यक्त गरे ।

सडकपेटीमा बेवारिसेको उद्धार

पोखराको सडकका विभिन्न स्थानमा कष्टकर जिवनयापन गर्न बाध्य २३ जनालाई उद्धार गरी आश्रय प्रदान गरिएको छ । सवैलाई नाना, खाना र छाना भन्ने उद्घोषका साथ अनाथ, आपाङ, असाहय तथा मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उद्धार गरिएको हो ।

मानव सेवा आश्रमको आयोजना तथा सामाजिक जागरणका लागि नारी अभियानको सह आयोजनामा सामुहिक उद्धार तथा सहभोज कार्यक्रम आयोजना गरी उनीहरुलाई गृह प्रवेश गराइएको हो ।

संस्कृत पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले यस कार्य मानविय मात्र नभएर पर्यटन प्रवद्धनका लागि समेत महत्वपुर्ण भएको बताए । उनले सरकारले गर्नुपर्ने कार्य समुदायस्तरवाट भएकोमा खुसी व्यक्त गर्दै आफुले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पोखरा पर्यटकीय क्षेत्र भएकाले सुरक्षाको हिसावले समेत महत्वपुर्ण भएको वताउदै चुनौति पुर्ण कार्य भएकाले निरन्तरताको लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै, सांसद कृष्ण थापाले आफ्नो क्षेत्रमा प्रशंसनिय कार्य भएको भन्दै राम्रा काममा सदैव साथ, सहयोग र सहकार्य गर्ने प्रतिवद्धताका साथमा आश्रम संचालनका लागि ५० हजार सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै सांसद दिपक कोइरालाले मानविय कार्य जस्तो ठुलो धर्म केही नहुने भन्दै सडकमा बेवारीसे व्यक्तिलाई सहारा दिने कार्यमा आफ्नो र पार्टीको समेत साथ रहने वताए ।

प्रमुख संरक्षक डा गोविन्द टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालीका वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारी, सामाजिक जागरणका लागि नारी अभियानका अभियन्ता तथा आश्रमका अभिवाभक सुष्मा पौडेल, नेपाल केशरी डा मणीभद्रमुनी महाराजले यस कार्यमा सवैले साथ दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यसैबीच, पर्यटनमन्त्री अधिकारी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समितिको बैठकमा समेत सहभागी थिए । मन्त्री अधिकारीकै अध्यक्षतामा बैठक भएको थियो ।

अधिकारी वर्षौअघिदेखि पोखरा विमानस्थलको निर्माणको अगुवाई गर्दै आएका छन् ।

यस्तै, पोखरा पर्यटन परिषदको सत्रौं वार्षिक साधारण सभा एवम् प्राकृतिक प्रकोप सहयोग समितिको समापन कार्यक्रममा पर्यटन मन्त्री अधिकारी सहभागी भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ