गण्डक न्युज पोखरा, २३ चैत / सेवाग्राहीसँग घुस लिएपछि जिल्ला शिक्षा कार्यालय कास्कीमा कार्यरत दुई प्राविधिक अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराले शुक्रबार दुईजना प्राविधिकलाई घुस रकम एक लाख सहित पक्राउ गरेको छ ।
कार्यालयका इन्जिनियर छविन्द्रबिक्रम खाँण र सबइन्जिनियर प्रदीपकुमार बानियाँलाई अख्तियार टोलीले पक्राउ गरेको हो । विद्यालय भवन निर्माण गर्दा गलत बिल फछर्यौट गरिदिने भन्दै उनीहरुले एक लाख रुपैयाँ घुस लिएका थिए ।
मादी गाउँपालिका–८ रबैडाँडाको नारायण आधारभूत विद्यालय र प्रभात आधारभूत विद्यालयको भवन निर्माणको सम्पन्नता पत्र दिनका लागि प्राविधिकद्वयले निर्माण समूहसँग घुस मागेको अख्तियार पोखराका प्रवक्ता रमेश ढकालले बताए ।
एक लाख दिएमात्र सम्पन्नता स्वीकृति पत्र दिने भनेपछि विद्यालय भवन निर्माण गरेको समूहले अख्तियारमा उजुरी गरेको थियो । दुई महिना अघि नै निर्माण सम्पन्न भएको विद्यालयको दुई कोठे भवन होचो भएको भन्दै सम्पन्नताको स्वीकृतिपत्र दिन प्राविधिकद्वयले मानेका थिएनन् ।
‘उजुरीको आधारमा प्राविधिकद्वयलाई घुस रकम सहित पक्राउ गरेका हौं,’ ढकालले भने, ‘उनीहरूको साथबाट एकलाख रुपैयाँ नगद फेला परेको छ ।’ पोखराको बगरमा रहेको शिक्षा कार्यालयका ती प्राविधिक घुसबापतको रकम लिन चिप्लेढुंगास्थित डेलिसियस फास्टफुड रेस्टुरेन्टमा आएका थिए । अख्तियारले उनीहरूलाई त्यही रेस्टुरेन्टबाट घुस रकमसहित पक्राउ गरेको हो ।
अन्तिम दिन भुक्तानी गर्ने क्रममा पक्राउ गरिएको हो । प्रक्राउ परेका प्राविधिकबारे थप अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ