श्यामशितल परियार लमजुङ–लमजुङको भोटेओडारमा पहिलोचोटी ‘थिएटर’मै नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको छ । सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माविको सभाहलमा शुक्रबार र शनिबार गरी दुईदिनसम्म नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको हो ।
ग्रामिण परिवेश समेटिएको नाटक ‘पानीघट्ट’लाई धेरैले रुचाएका छन् । मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुती रहेको नाटक पानीघट्टका लेखक तथा निर्देशक पुरु लम्साल हुन् । लमजुङको सँस्कृति लोपान्मुख ठाडोभाका, वैदेशिक रोजगारले निम्त्याएका विभिन्न समस्या, संकटको संघारमै पुग्न लागेको ‘पानीघट्ट’को महत्वलाई नाटकमा उतार्ने प्रयास गरिएको लम्सालले बताए।
नाटकमा उकालीओराली, मेलापात, भञ्ज्याङ, चौतारी, माया प्रेमका भाव पनि देखाईएको छ । नाटकमा कलाकारले जीवन्त अभिनय गरेका छन् । नाटकमा स्थानीय १८ कलाकारको अभिनय हेर्न पाईन्छ । नाटक ‘पानीघट्ट’मा ग्रामिण परिवेश, मौलिक कला, परम्परा, सँस्कृतिलाई यथार्थ चित्रण गरिएको छ ।
‘नाटकले वैदेशिक रोजगारीले निम्त्याएका यथार्थ समस्यालाई जस्ताको तस्तै उतारेको छ, मौलिक कला, परम्परालाई पनि चित्रण गरेको छ, नाटक निकै राम्रो लाग्यो,’ नाटक हेरिसकेपछि प्रतिक्रिया दिँदै भूपू सैनिक बोर्डिङ स्कुलका शिक्षक विष्णु घलेले भने ।

वैदेशिक रोजगारीका कारण कयौँ युवा विदेश भासिएका छन् । धेरै शहरकेन्द्रीत भएका छन् । गाउँघर रित्तिदैँ छन् । खेतीयोग्य भूमी बाँझै छन् । बुढापाका मात्रै गाउँमा छन् । गाउँमा कोही बिरामी हुँदा अस्पतालसम्म लैजाने मानिस छैनन् । जिउँदाको जन्ती, मर्दाको मलामी जाने मान्छे समेत छैनन् ।
युवाशक्ति विदेश पलायन हुदाँ शव बोक्ने मानिस समेत नहुँदा महिलाहरुले नै शव बोक्न बाध्य भएको यी सब् तीतो यथार्थ ७० मिनेटको नाटक पानीघट्टमा देख्न-सुन्न पाईन्छ । नाटकका लेखक तथा निर्देशक लम्सालका अनुसार ‘पानीघट्ट’ हाम्रो नेपाली सँस्कृतिसंग जोडिएको विषय हो । कयौँ ग्रामिण क्षेत्रमा अझै कुटानी÷पिसानीका लागि पानीघट्टकै भर पर्नुपर्ने अवस्था छ । सुगम ठाउँमा यो हराईसक्यो । ठाडोभाका लमजुङको चिनारी हो । यो अहिले लोप हुने अवस्थामा छ ।
‘समाजका समस्या, परिवेश, कलासँस्कृतिलाई नाटकमा उतार्ने प्रयास गरेका हौँ, नाटकलाई दर्शकश्रोताको न्यानो साथ पनि मिलेको छ, यसमा हामी खुशी छौँ,’ उनले भने । लमजुङे नागरिकमा नाटकको ‘क्रेज’ रहेको तर नाटक मञ्चनका लागि उयपयुक्त नाटकघर नहुनु, आर्थिक समस्या हुनुजस्ता कयौ कारण मोफसलमा नाट्यकर्म चुनौतीपूर्ण रहेको नाटकका संयोजक एवम् मञ्जरी नाट्य समुह लमजुङका अध्यक्ष केदार बोहोराले बताए।

साधना र निरन्तरता भएमा नाटयकर्मबाटै पनि माथि उठ्न सक्ने सम्भावना रहेको नाटक ‘पानीघट्ट’का सहायक निर्देशक सञ्जोग लामिछानेले बताए। ‘पानीघट्ट’मा घट्टबाजे र ठाडोभाका सर्जकको भूमिका निर्वाह गर्न पाउँदा छुट्टै आनन्द मिलेको ६३ वर्षे कलाकार विष्णुभक्त अधिकारीले बताए।
नाटक ‘पानीघट्ट’मा परदेशीको श्रीमतिको भूमिका निर्वाह गरेकी कलाकार शान्ति श्रेष्ठले समसामयिक विषयका साथै मौलिक कला, सँस्कृतिलाई केन्द्रीत गरी बनाईएको ‘पानीघट्ट’मा अभिनय गर्न पाउँदा निकै खुशी मिलेको बताए। नाटक पानीघट्ट यसअघि अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ कोलकत्ता, राष्ट्रिय नाटक महोत्सव– २०७४ पोखरा र लमजुङकै बेसीशहरमा प्रदर्शन भएको थियो ।
लम्सालकै लेखन÷निर्देशनमा यसअघि लमजुङमा पहिलोपटक ‘थिएटर’मा नाटक ‘फड्के’ पनि मञ्चन भएको थियो । ‘फड्के’लाई पनि धेरै दर्शक-श्रोताको तारिफ बटुलेको थियो ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह