हिमालपारी चौरीको आलो रगत निकाल्ने प्रचलन पुरानो

हिमालपारी चौरीको आलो रगत निकाल्ने प्रचलन पुरानो

yak rajdhni

सुन्दर कुमार थकाली, मुस्ताङ । हिमाली तथा उच्चपहाडी जिल्लाका पशुपालक किसानहरुले चौरी पालन व्यवसायलाई मुख्य आम्दानी गर्ने श्रोतको रुपमा स्थापित गरेको पाईएको छ ।चिसो मौसमी हावापानी चौरीका लागि उपयुक्त वातावरण भएको र उच्च लेंकमा पाईने वन्यजटिबुटीहरु चौरीका लागि मुख्य आहार मानिएकाले यहाँका बासिन्दाले परम्परागत रुपमा चौरी पालन व्यवसायलाई अघि बढाएको पाईएको छ ।

विषेशगरी उपल्लो मुस्ताङका ३ स्थानीयतहका किसानले पशुपालनतर्फ भेडा च्याङ्ग्रा र तल्लोक्षेत्रका किसानले चौरी पालन व्यवसाय पछ्याएको पाईन्छ ।सदियौकाल देखि मुस्ताङको तल्लोक्षेत्रमा पर्ने घरपझोङ गाउँपालिका ५ को नमखुलेक,थासाङ गाउँपालिका १ को मार्चे लेक र थासाङ गाउँपालिका २ को धौलागिरी आइसफलको फेदमा चौरी पाल्ने प्रचलन रहेको छ । थासाङका पशुपालक किसानहरुले समुहनै गठन गरेर यो व्यवसाय अघि बढाएका छन् भने घरपझोङमा स्थानीय भुपेन्द्र शेरचन एक्लैले चौरी पालन गरेका छन् ।

चौरी पालक किसानले यस व्यवसायलाई मासुका लागि भाले याक बिक्री गर्ने,सिजनका बेला आलो रगत निकालेर बिक्री गर्ने र चौरी गाईको दुधबाट चिज ,छुर्पी र घीउ आदी उत्पादन गर्ने गरेका छन् ।यहाँ वर्षेनी एक सिजनमा एकपटक मात्र चौरीका आलो रगत निकाल्ने चलन छ ।जसअन्तर्गत थासाङ २ का धौलागिरी चौरी पालक किसानले वर्षेनी बैशाख महिनामा चौरीको आलो रगत निकाल्ने गरेका छन् भने थासाङ १ का याकनाक भेडीगोठ समिति र घरपझोङका भुपेन्द्र शेरचनले श्रावणको पहिलो सातामा चौरीको आलो रगत निकाल्ने गरेका छन् ।


थासाङ १ टुकुचेका चौरी पालक किसानले निलगिरी हिमालको नजिकै पर्ने मार्चे लेकको समथर फाँटमा श्रावणको पहिलो सातादेखि चौरीको आलो रगत निकाल्ने भएका छन् ।याकनाक समुहले आयोजना गर्ने रगत पिउँने मेलामा जिल्ला बाहिरका म्याग्दी,बाग्लुङ,पोखरा र काठमान्डौ लगायतका उल्लेख्य सर्वसाधारण मुस्ताङ ओईरिने समुहले जनाएको छ ।चौरी पालक किसानका अनुसार बैशाख महिनामा निकालिने चौरीको आलो रगत भन्दा श्रावण महिनामा निकालिने रगत पोशिलो हुने जनाएका छन् ।हिमाली तथा उच्चपहाडी लेकमा पालन गरिने चौरी तथा याकले त्यहाँ पाईने यार्सा गुम्बा,पाचऔले,निरमसी,जटामसी,बन लसुन र बन जिम्बु आदी जस्ता बन्यजटिबुटी खाने भएकाले चौरी रगत उपयोगी मानिएको हो ।चौरी तथा याकको आलो रगत पिउँदा गानागोला,ग्याष्ट्रिक,हाडजोनी लगायत पेट सम्वन्धि संम्पूर्ण रोगहरु निको हुने बिश्वास गरिएको छ ।

स्थानीय चौरी पालक किसान नगेन्द्र क्षेत्रीका अनुसार लेकमा पुगेर चौरी रगत पिउँनेहरु प्रायगरी ४० देखि ६० वर्ष उमेर समुहका मानिस बढी मात्रामा आउने गरेको बताए ।उनले रगत मेलामा ठुलो चौरी तथा याकबाट २० देखि २५ गिलास र सानोबाट १० देखि १५ गिलास सम्म रगत निकाल्ने जनाए ।टुकुचेको मार्चे लेकमा १० जना चौरी धनी समुहको करिव ५ सय १५ वटा चौरी तथा याक छन् । श्रावणमा लाग्ने मार्चे लेकको चौरी मेलामा चौरीको रगत प्रति गिलास सय रुपैया तोकिएको याकनाक समुहका अध्यक्ष राजेन्द्र तुलाचनले जानकारी दिए ।उनका अनुसार मार्चे लेकमा रगत पिउन आउनेका लागि चौरी धनीहरुले नै टहरा निर्माण गरेर सुलभ मुल्यको होटल संञ्चालन गर्ने तैयारी भएको जानकारी दिए ।

भौगोलिक दृष्ट्रिले विकट र यातायातको असुविधाका कारण मार्चे लेक पुग्न सर्वसाधारणलाई पैदल हिड्न ३ घण्टा समय लाग्छ ।जसका कारण बैशाखमा बोक्सीखोलामा निकालिने रगत मेला भन्दा कम मानिस मार्चे पुग्छन् ।समितिका सदस्य नरप्रसाद शेरचनका अनुसार वर्षेनी मार्चे लेकमा रगत पिउँनेहरु ३ सय देखि ५ सय सम्म मानिस पुग्ने गरेको जानकारी दिए ।रगत पिउन उकालो उक्लनेहरु ३ दिन देखि एकसाता सम्म लेकमै बसेर रगत पिउने गरेको उनले जनाए ।मार्चेमा पालन गरिएका चौरीहरुको वर्षेनी एक सिजन पशु चिकित्सकबाट स्वास्थ्य परिक्षण गरिने र सोही अनुसार स्वस्थ्य चौरीहरुको रगत निकालिने समितिका सचिव रमेश पुनको भनाई छ ।उनका अनुसार १ चौरी गोठबाट ५ सय ७ सय गिलास सम्म रगत निकालिने र सबै गोठमा रहेका चौरीको रगत बिक्री गरेर ६ लाख सम्मको आर्थिक कारोवार हुने जानकारी दिए ।

करिव ४५ सय मिटरको उचाईमा रहेको मार्चे लेकमा पुग्ने सर्वसाधरणले पश्चिमतर्फ अवस्थित निलगिरी हिमाल,दक्षिणतर्फ अवस्थित धौलागिरी हिमाल,कालिगण्डकी करिडोर,थासाङ क्षेत्रका वस्ती नियालेर आनन्द लिन सकिने आयोजकले जनाएको छ ।मार्चे पुग्न थासाङको चोखोपानी हुदै जंगलै जगंलको यात्रा गर्नुपर्ने हुन्छ ।जहाँ अग्लो उचाईमा ठुलो समथर फाँट छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ