गाँजा खाएका बेला सम्झाउँदा हत्या ! मकवानपुरे सञ्चारकर्मी ढकालको हत्यामा संलग्न दुई किशोर पक्राउ (घटना विवरण, भिडियोसहित)

गाँजा खाएका बेला सम्झाउँदा हत्या ! मकवानपुरे सञ्चारकर्मी ढकालको हत्यामा संलग्न दुई किशोर पक्राउ (घटना विवरण, भिडियोसहित)

hetauda murder

राजकिरण छत्कुली, हेटौंडा । मकवानपुरे पत्रकार मनोहर ढकालको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरिएको हो । हेटौंडा ११ बस्ने राजन पुडासैनीका छोरा १९ बर्षिय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ बस्ने पदम वाइबाका छोरा १८ बर्षिय प्रविण वाइबाले पत्रकार ढकालको हत्या गरेका हुन् ।

हत्यापछि ढकालको मोबाइल र सुनको औँठी खरिद गर्ने दुई जना व्यापारीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । मोबाइल खरिद गर्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका संचालक मकवानपुर भीमफेदी गाउपालिका ६ बस्ने ३१ बर्षिय दिनेश थापा मगर र सुनको औठी किन्ने नारायणी सुनचादी पसलका संचालक हेटौंडा २ बस्ने ४८ बर्षिय नारायण बहादुर सुनारलाइ पनि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले औठी, मोबाइल, हार्डडिक्स र डाटाकेवल बरामद गरेको छ ।

हेटौंडा ११, नवलपुर निवासी सञ्चारकर्मी एवं शिक्षक ढकाल गत पुस २५ गते साँझ मकवानपुरकै भैरवडाँडाको जंगलमा हत्या गरिएको अवस्थामा भेटिएका थिए । दश दिनको लामो अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरू सार्वजनिक गरेको हो। सामुदायिक रेडियो पालुङका पूर्व स्टेशन म्यानेजर रहेका ढकालको हेटौँडा १२ स्थित बुद्ध माध्यमिक विद्यालयमा अध्यापन गरेर फर्कने बेलामा हत्या भएको थियो । उनका श्रीमती, आमा, एक छोरा र एक छोरी छन् । विभिन्न रेडियो स्टेशनहरुमा ट्रान्समिटर तथा टावरको प्राविधिक काम पनि उनले गर्दै आइरहेका थिए ।

घटना विवरण

गत पुस २५ गते साँझ करिब पौने ५ बजे भैरवडाँडाको जंगलमा अनमोल र प्रविण लागूऔषध सेवन गरेर बसिरहेका थिए । अनमोल पहिल्यैदेखि कूलतमा थिए । उनको फेसबुक हेर्दा समेत प्रष्ट हुन्छ । सार्वजनिक तस्विरहरु प्रायः लागूऔषध प्रयोग गरिरहेको, धुवाँ उडाइरहेको देख्न सकिन्छ । पत्रकार ढकालले आएर किन जंगलमा बसेको ? बदमासी गर्न हो ? प्रहरीलाई बोलाउँ ? भनेपछि उनीहरु आक्रोशित भएका थिए । लागूऔषध सेवन गरिरहेका उनीहरुले पत्रकार ढकालको हातमा सुनको औंठी र झोला समेत देख्छन् । र, प्रलोभनमा मोटरसाइकलबाट तानेर घाँटी थिच्छन् ।

https://youtu.be/8NLvN4Gg4GI

त्यसवेलासम्म ढकालले चलाएको ना २३ प ६३३८ नम्बरको डिस्कभर मोटरसाइकल स्टार्ट अवस्थामा नै थियो । छेऊमा तानेर ढकाललाई लडाएपछि उनीहरुले ढकालसँग भएको सुनको औंठी, पर्स, हार्ड डिक्स र झोला समेत खोस्छन् । त्यसक्रममा उनीहरुले हत्या गर्ने उद्देश्यले ढुंगा भएको खोल्सामा ढकाललाई धकेल्छन् । पछि, प्रहरीलाई खबर पुगेपछि हस्पिटल लगिन्छ । पाँच मिनेटमै डाक्टरले मृत घोषणा गर्छन् ।

त्यसअघि उनको दुर्घटनामा मृत्यु भएको बताइँदै आएको थियो । तर, प्रहरीको तालिम प्राप्त कुकुरको संकेत, १ सय ५० जनासँगको सोधपुछ र कल डिटेल एनालइसिसबाट हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

उनीहरुले पुस २६ गते हेटांैडा–२ स्थित नारायणी सुनचाँदी पसलमा सुनको औंठी बेचेका थिए । उक्त तथ्य खुलेपछि प्रहरीले पसल सञ्चालक ४८ वर्षीय नारायणबहादुर सुनारको पसलबाट औंठी बरामद गरी उनलाई नियन्त्रणमा लिएको थियो । हार्डडिस्क र डाटाकेवल भने हेटौंडा–४ मा रहेको एनसेल कार्यालयपछाडि पुडासैनीको डेराबाट प्रहरीले बरामद गरेको थियो ।

पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले ढकाल त्यहाँ सही नियतले गएको तर गाँजा खाइरहेका केटाहरुलाई सम्झाउन खोज्दा उनीहरुले लुटपाटको नियतले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए ।

संचारकर्मी ढकालको गत पुष २५ गते साँझ हेटौंडा उपमहानगरपालिका १ मा पर्ने भैरवडाडा जाने बाटो नजिक रहस्यमय रुपमा मृत्यु भएको थियो । उनले चढ्ने मोटरसाइकल लडेको अवस्था भेटिएको थियो भने झोला तथा कागजपत्र यत्रतत्र छरिएको अवस्थामा फेला परेको स्थानीय सतिश अधिकारीले जानकारी दिए ।

मृतकको मोबाइलबाटै हत्यारा पक्राउ

अनुसन्धानमा खटिएको प्रहरीलाई कुकुरमार्फत केही क्लु फेला पर्छ । प्रहरीले मृतक ढकाल लगायत सयौं जनाको मोबाइल नम्बरको अनुसन्धान गर्छ । सोही क्रममा माघ ४ गते दिउँसो साढे १ बजे मृतकको मोबाइलसहित दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरबाट प्रहरीले ३१ वर्षीय दिनेश थापा मगरलाई नियन्त्रण लिन्छ ।

मृतकको मोबाइलबाटै प्रहरी हत्यारासम्म पुग्न सफल हुन्छ । पक्राउ परेका मगरलाई निरीक्षक थापा कमाण्डको प्रहरीले केरकार गर्छ । उनले उक्त मोबाइल हेटौंडा–११ बस्ने १९ वर्षीय अनमोल पुडासैनीसँग १० हजारमा खरिद गरेको बयान दिन्छन् ।

उनले मोबाइल किन्ने बेला पुडासैनीको नागरिकताको फोटोकपीसमेत मागेर राखेका थिए । त्यसबाट प्रहरीलाई झन ठूलो प्रमाण मिल्छ । मगरको बयान र नागरिकताको प्रतिलिपिबाटै प्रहरीले अनमोललाई खोज्न सुरु गर्छ । माघ ४ गते दिउँसो ५ बजे हटौंडा–४ बाट प्रहरीले अनमोल पुडासैनी र उनीसँगै रहेका प्रवीण वाइबालाई पक्राउ गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ