अश्विन दानी, पोखरा । २०७४ साउन २६ गते रानीपौवामा बिजुलीको तार एक्कासि चुडिएर सडकमा खस्दा गुडिरहेको मोटरसाइकलमा सवार एक युवाको ज्यान गयो । फेरि सोहि बर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर अमरसिंह चोकको बिजुलीको तारमा अल्झिएर झुन्डियो । त्यस्तै २०७५ साउन २ गते पोखराको गणेश टोलमा गुजुल्टे तारका कारण आगलागी भयो । पोखराको मुख्य शहरहरुमा अव्यबस्थित तारका कारण हुने गरेका केही उदाहरण मात्र हुन् यी ।
एक पछि अर्को दुर्घटना हुन थालेपछि पोखरा महानगरपालिकाले जथाभाबी गाडिएका पोल र तारका कारण दुर्घटना बढेको र पर्यटकीय शहर कुरुप बनेको भन्दै अव्यबस्थित तरिकाले टाँगिएको तार हटाउने निर्णय गर्याे । सोहि निर्णय अनुसार महानगरपालिकाका उपसचिव गंगालाल सुवेदीको संयोजकत्वमा १२ सदस्यीय तार ब्यवस्थपान सहजीकरण समितिसमेत गठन भयो ।
सोहि अभियानको उद्घाटन गर्दै २०७५ साल मंसीर २७ गते पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सिद्धार्थचोक स्थित बिजुलीको पोलमा लर्तिएको तार काट्दै भनेका थिए, ‘छिनाले है, अब पोखरा स्मार्ट सिटी बन्नेतर्फ गयो । पोलपोलमा गुजुल्टिएका तार हटाउने जस्तै अभियान सञ्चालन गरेपछि महानगर आफै स्मार्ट सिटी बन्छ ।’
सहभागीले ‘परररर, परररर’ ताली बजाए । तर, मेयर जिसीको त्यो भाषण र महानगरपालिकाको अव्यबस्थित तार हटाउने अभियान कहाँ पुग्यो पत्तो छैन । किनकि, यो चुनौतिपूर्ण काम थियो । चार चरणमा अव्यबस्थित तार हटाउने योजनासहित सुरु गरिएको अभियानले निरन्तरता पाउन सकेन ।
‘हाम्रा मेयर ज्यूले पोखरालाई स्मार्ट सिटि बनाउने भन्दै नयाँनयाँ योजना ल्याएर काम गरेजस्तो गर्छन् तर पुरा काम गर्दैनन् ।’ चिप्लेढुंगाका एक व्यवसायीले भने ‘पोहोरै सिद्धार्थचोकमा आफैले तार काट्दै अब पोखराको मुख्य चोकहरुका पोलमा अव्यबस्थित भएर झण्डिएको तार हटाउछु भन्या हैन र ? खै, कहाँकहाँको हटाए ? बोल्दैमा स्मार्ट सिटि नहुँदो रैछ नि !’
महानगरले अभियानलाई निरन्तरता नदिँदा पोलपोलमा टाँगिएको अव्यबस्थित तारका कारण सर्वसाधरणले झेल्नु परेको समस्या ‘ज्यू को त्यूँ’ छ । ‘पोलपोलमा तारको गुजुल्टै गुजुल्टो छ । कतै त तार भुइँमा नै लत्रिएको छ’ चिप्लेढुङ्गा हुँदै महेन्द्रपुल जाँदै गरेका पैदलयात्री राजकुमार श्रेष्ठले भने, ‘तार हटाउने भन्दै महानगरले अभियान सुरु ग¥या थियो रे भन्ने सुन्या थिएँ । अहिले किन रोकियो कुन्नि ? नेपाल त हो, सबैले बोले अनुसारको काम कहाँ पो गर्छन् र !’
सिद्धार्थचोकमा तार काटेर अभियानको सुरु गरेपछि मेयर जिसीले भाषण गर्दै भनेका थिए, ‘महानगरले गुजुल्टिएका तार हटाउने अभियानमा नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थाहरुलाई सँगसँगै लिएर हिँडेको छ ।’ मेयर जिसीकै भनाई अनुसार महानगरको यो अभियानमा सम्बिन्धित सबैले साथ दिँदादिँदै पनि किन अभियानले निरन्तरता पाएन ?
‘हामीले उद्घाटन गरेरै अभियान सुरु गरेका थियौँ’ मेयर जिसीले गण्डक न्यूजसँग भने, ‘अभियान सुरु गरेर केहि समय काम पनि गरेका हौँ । तर, त्यसरी एकएक गर्दै तार काट्न सम्भव देखिएन त्यसैले बैकल्पिक उपाय खोज्नु पर्ने भयो । अहिले काम महानगरले प्राबिधिकहरुसँग छलफल गर्दैछ ।’
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु