दशैँमा आउँछु भनेको परदेशीलाई असारमै प्रतीक्षा गर्नुपर्यो, जीवित होइन, मृतावस्थामा । सिंगो परिवारलाई सुखमा राख्छु भनेर पैसा कमाउन हिँडेको लक्का जवान छोराको शवको प्रतीक्षा गर्नु सिवाय केही गर्न सकेका छैनन् बाबुआमाले ।
कतारको ज्याक कम्पनी कन्स्ट्रक्सन रोडलाइनमा कार्यरत फुलीराम चौधरीको शव ल्याउने तयारी भइरहेको छ भन्ने खबरले चौधरी बस्तीमा व्यग्र प्रतीक्षा छ अहिले । दाई हरिराम चौधरीले भने, ‘भाइको शव घरमा अझै आइपुग्या छैन, विदेश पठाउने भीम डाँगीसँग फोन कुरा भइरहेको छ’, उनले भने, ‘शव घरमा आइपुग्ने कहिले हो त्यसको कुनै अत्तोपत्तो छैन ।’
दाइ हरिराम चौधरीले भने, ‘भाइको साथीले फोनमा आत्महत्या गरी मृत्यु भएको खबर सुनाएका थिए, आत्महत्या हो कि हत्या हो, यथार्थ कुरा अझै थाहा छैन’, उनले भने, ‘नजिक भएको भए गएर बुझ्नुहुन्थ्यो, अर्काको देशमा सजिलै जान पनि नसकिने, साह्रै गाह्रो भयो ।’
प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसंग कुरा गर्नुहुन्थ्यो । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा ।
यो समाचार चितवनको हो । विसं २०७२ को तिहार मानेर कतार उडेका लमही नगरपालिका–८, बीचगाउँका फुलीराम चौधरी यही दशैँमा घर आउने पक्कापक्की थियो । यस्तै चलिरहेको थियो दैनिकी । सधैँजस्तै जेठ ३१ गते शुक्रबार पनि कतारबाट फोन आयो सम्झनालाई । तर त्यो फोन फुलीरामको थिएन । फुलीरामको मृत्युको खबर पुर्याउने कुनै एक व्यक्तिको फोन थियो । सधैँजस्तै काम गरेर सुतेका फुलिराम बिहान मृतावस्थामा भेटिएको खबरले सम्झनाको सिङ्गो जिन्दगीमा कहालीलाग्दो पहिरो गयो ।
मृत्युको खबर पाएकी सम्झनाको आँखा ओभाएका छैनन् । ‘कतार गएको ४ वर्ष भइसकेको थियो, आउनै मान्नुभएको थिएन, राम्रै पैसा कमाएर मात्र आउँछु भनेर बस्नुभयो’, २७ वर्षीया सम्झनालाई बोल्न गाह्रो भयो, ‘दशैँमा आउने कुरा थियो, मान्छे आउलान् भनेको यस्तो खबर आयो ।’ घरपरिवारलाई सुखले राख्ने सपना लिएर विदेश उडेको फुलीराम जिउँदो फर्किन सकेनन् । ५ दिनदेखि बीचगाउँ शोकमा छ । ३६ वर्षीय फुलीरामलाई बीचगाउँवासी सबैले सम्झना गरिरहेका छन् ।
पक्की घर बनाउने सपना
छरछिमेकमा ठूला घर भए । फुलीरामलाई यही चिन्ता थियो, नेपालमा बसेर ठूलो सिमेन्टको घर बनाउन सकिँदैन भन्ने लागेपछि कतार उडेका फुलीरामको सपना अधुरो रह्यो । अहिले पनि घरको आर्थिक अवस्था निकै कमजोर र खरको छानो र माटोले पोतेको कच्ची घर छ । घरपरिवारलाई पक्की घरमा राख्ने ठूलो सपना बोकेर फुलीराम चौधरी कतार हिँडेका थिए ।
फुलीरामको परिवारमा अहिले पनि १७ सदस्य छन् । आफ्नै जग्गा नभएका कारण खानलाउनसमेत राम्रोसँग नपुग्ने भएपछि बाध्यताले घर छाडेका फुलीरामले बेलाबखत पैसा पठाउने गरेको श्रीमती सम्झनाले बताइन् ।
‘घर बनाउने हो भन्नुहुन्थ्यो, खै पैसा कति कमाउनुभयो, केही थाहा छैन, कहिलेकाहीँ पैसा पठाउनुहुन्थ्यो’, सिठाले बारेको घर हेर्दै सम्झनाले आँशु पुछिन् र भनिन्, ‘अब त सबै सक्कियो ।’
सम्झना र फुलीरामको विवाह भएको करीब १० वर्ष बित्यो । अहिलेसम्म सन्तान छैनन् । फुलीरामको सपना अधुरै रहेको खरले छाएको घरभित्र सन्नाटा छाएको छ ।
चुलो बलेको छैन । कसैलाई भोक पनि लागेको छैन । ‘४ वर्षपछि आउन लागेको खबरले सबै खुशी हुनुहुन्थ्यो, तर जिउँदो देख्नै पाइएन ।’ रासस
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’