नुवाकोट । बट्टार बजारमा बसले बालकलाई किचेर ज्यान लिएपनि चालक मरणासन्न हुने गरी कुटिएका छन् । जिल्लाकै तारकेश्वर गाउँपालिका–५, गोर्स्याङ घर भएका ११ वर्षीय बालक युनिकको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ ।
बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई रामधुलाई हुने गरी कुटेका छन् । बस पनि तोडफोड गरिएको छ । घाइते चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । मृतकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन् ।