प्रधानमन्त्रीले मन्त्रीहरूलाई भनेः ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु, कसैले पनि माइण्ड नगर्नुहोला’

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भनेः ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु, कसैले पनि माइण्ड नगर्नुहोला’

Cabinet meet

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । आज (मंगलबार) साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने, ‘कसैले पनि माइण्ड नगर्नुहोला’

 बैठकमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद दिएका छन् । नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए । प्रधानमन्त्री ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।  प्रधानमन्त्रीले बैठकमा भनेको भनाई उद्धत गर्दै भने, ‘अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद। भोलि तपाँईहरु कसैले औपचारिक कार्यक्रम नराख्नुहोला।’

मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारूढ दल नेकपाले प्रधानमन्त्रीलाई आइतबार नै सैद्धान्तिक सहमति दिएको थियो। सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

दुई नेताबीच फेरि वार्ता हुँदैछ र मन्त्रिपरिषद हेरफेरकै विषयमा केन्द्रित रहेर छलफल गर्न बुधबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाइएको छ।  ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।

केही दिनयता मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाका नेताहरूको दौडधुप बढेको छ।

दिउँसो ४ बजे नयाँ मन्त्रीहरूको सपथ

बुधबार दिउँसो ४ बजे नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रमका लागि तयारी गरिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्नेबारे ब्रिफिङ गरेको बताए ।

सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठनको तयारी गरेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्माको भनाई उदृत गर्दै मन्त्री बास्कोटाले भने, ‘आज साँझ ६ बजे झण्डै २० मिनेट जति मन्त्रिपरिषद बैठक बस्यो । बैठकमा प्रधानमन्त्री ज्यूले सबै मन्त्रीहरुलाई धन्यवाद दिनुभएको छ । उहाँले भोलि आफूले केहि नयाँ गर्ने पनि जानकारी गराउनुभएको छ ।’

मन्त्रिपरिषद बैठकमा निक्कै भाबुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले लामो समयको तयारीपछि मन्त्रिपरिषद पुर्नगठन गर्ने मनस्थितिमा पुगेका हुन्। प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको कारण देखाउँदै सरकारलाई थप चलायमान बनाउन नयाँ निर्णय लिने मनस्थितिमा पुगेका हुन ।

मन्त्रिपरिषदका सबै सदस्यलाई नहटाई केहिमन्त्रीलाई मात्र जिम्मेवारीबाट मुक्त गर्ने तयारीमा प्रधानमन्त्री छन् । स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गरेका छन् ।

यसैबीच, सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्सम्बन्धि ऐन संशोधन गर्ने भएको छ। अहिले संवैधानिक परिषद् ऐनमा ‘बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने’ उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ