जम्मु कश्मीरको आक्रमणमा गोरखाका अर्जुनको मृत्यु

जम्मु कश्मीरको आक्रमणमा गोरखाका अर्जुनको मृत्यु

Arjun Thapa Magar

भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । नयाँ वर्षको पहिलो दिन मङ्गलबार राति जम्मु कश्मीरको नौशेरामा मङ्गलबार  आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए । चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुनको ससुराली तनहुँ दुलेगौँडा हो ।  उनको शवलाई नेपाली सीमाना काँकडभित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ ।

अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘भान्जा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो ।’ ‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे,’ मामा सुजीतले भने, ‘घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ मामा सुजीतले भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ ।’

बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेका थिए ।

मङ्गलबार मात्रै श्रीमतीसँग फोन भएको थियो भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोली चलेको हो ।

कुराकानीको क्रममा अर्जुनले ‘गोली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds