आठ करोडमा बनेको महेन्द्रोदय माविको भवन समुद्घाटन (भिडियोसहित)

आठ करोडमा बनेको महेन्द्रोदय माविको भवन समुद्घाटन (भिडियोसहित)

mahendrodaya mavi (1)

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानी, पोखरामा निर्माण सम्पन्न महेन्द्रोदय माध्यमिक विद्यालय भवन उद्घाटन गरिएको छ । विद्यालयको ६२ औं वार्षिकोत्सवका अवसर पारी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भवन समुद्घाटन भएको हो ।

जापानको जाइकाको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई शिक्षा र जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत ८ करोड रुपैयाँ लागतमा पुनर्निर्माण भएको हो । ६ ओटा ब्लकमा २२ कोठा, एउटा हल र आठ कोठे शौचालय निर्माण भएको छ ।

मुख्यमन्त्री पौडेलले शैक्षिक गुणस्तर सुधार गर्न धादिङका विद्यालयहरुसँग आग्रह गरेका छन् । विद्यालयको भौतिक विकासले मात्र शैक्षिक स्तर वृद्धि नहुने बताउँदै मुख्यमन्त्री पौडेलले अब शिक्षकहरुले पढाउने हैन, सिकाउने बानीको विकास गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले शैक्षिक विकास विना मुलुकको समृद्धि कल्पना गर्न नसकिने धारणा पनि राखे । पौडेलले विद्यालयमा खेल मैदान र खानेपानी व्यवस्थानको लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

विद्यालयका प्रधानाध्यापक कुमार बहादुर नेपालीले भूकम्पले क्षति पु¥याएको विद्यालयको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र अन्य सहयोगीहरुको सहयोगमा भवन निर्माण सम्पन्न भएको बताए । २०१४ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाई भैरहेको पनि प्रधानाध्यापक नेपालीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश अधिकारीको अध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्सांसद खेमप्रसाद लोहनीले वर्तमान सरकार शिक्षा क्षेत्रको विकासमा लागेको धारणा राखे ।

कार्यक्रममा बागमती प्रदेशका सांसद डा. राजाराम कार्कीले विद्यालयको भवन सुविधा सम्पन्न भएपनि शिक्षक र विद्यार्थीले मेहनत नगरे उपलव्धि प्राप्त नहुने र लगानी त्यसै खेरजाने बताए । दुबैजना सांसदले विद्यालयको शैक्षिक विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरुबीच सुमधुर सम्बन्ध राख्न आग्रह पनि गरे ।

विद्यालयमा योगदान गर्ने पूर्व शिक्षकहरु, चालु शैक्षिक सत्रमा अनुशासन तथा सिकाई उपलव्धिमा उत्कृष्ठता हाँसिल गर्ने विद्यार्थीहरु, विद्यालयलाई सहयोग गर्ने चन्दादाता र भवन पुनर्निर्माणमा सहयोग गर्ने जाइका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई शिक्षा र जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षालाई सम्मान समेत गरिएको छ । भवन उद्घाटन, हस्तान्तरण तथा ६२ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका बबिता बानियाँ (जेरी), राजकुमार बानियाँ, अमृत सापकोटा लगायतका स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ