अबैध क्रसरका कारण गोरखाका ३ सय विद्यार्थीको शैक्षिक भविष्य अन्यौलमा

अबैध क्रसरका कारण गोरखाका ३ सय विद्यार्थीको शैक्षिक भविष्य अन्यौलमा

tipper (2)

गोरखा, १७ माघ । जिल्लाको गोरखा नगरपालिका वडा नं. १० मा रहेको अवैध क्रसर उद्योगका कारण यस क्षेत्रका ३०० वालबालिकाहरुको भविष्य अन्यौल भएको छ । तारा माध्यमिक विद्यालयको प्राङ्गण भएर दिनहुँ सयौंको संख्यामा ट्रिपरहरु धुलो उडाउँदै गुड्ने गर्दछन । यिनै ट्रिपरहरुका कारण विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौल भएको हो ।

विद्यार्थीहरु हिड्ने बाटो र क्रसरमा दौडने गाडि हिँड्ने बाटो एउटै छ । विद्यालय जान लागेका बालबालिकाहरुलाई कुनै प्रवाह नै नगरी गाडिहरु गुडिरहन्छन् । विद्यालयमा कक्षा चलिरहेका समयमा हर्न बजाउँदा कक्षाकोठाको पठनपाठनमा असहज हुने गरेको बालबालिकाहरु बताउँछन् ।

गोरखा नगरपालिका वडा नं. १३ मा सञ्चालन अनुमति पाएको गोरखकाली क्रसर उद्योग गोरखा भूकम्पलाई कारण देखाउँदै गोरखा नगरपालिका वडा नं. १० मा सञ्चालनमा रहेको छ । शुक्रबार विहान ५ः३० बजे छेपेटार दुध वेच्न हिडेकी बोहरावेशीकी ५२ वर्षिय मनमाया तामाङलाई सोही रुटमा चल्ने ग १ ख ८०२७ नम्बरको ट्रिपरले ठक्कर दिएर मारेको थियो । पिडित पक्षहरुले शुक्रबार दिन भर अवैध क्रसर तुरुन्त हटाउन माग गर्दै नारावाजी गरेका थिए ।

सार्वजनिक र त्यस स्थानका स्थानीयहरुको जमिन कब्जा गरेर उक्त उद्योग सञ्चालनमा आएको छ । घटना स्थलमा पुगेका सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई समेत प्रहरीले दुव्र्यवहार गरेको थियो । क्रसर भन्दा विद्यालय पहिला स्थापना भएकाले क्रसर कागजपत्र अनुसार सम्बन्धित ठाउँमा लगेर सञ्चालन गर्नुपर्ने माग स्थानीयहरुले गरेपनि क्रसर सञ्चालकले भने विद्यालय र वरिपरीको बस्ती सार्नुपर्ने बताउँदै आएको स्थानीयहरु बताउँछन् ।

यसैवीच, शुक्रबार भएको घटनाका पीडित पक्ष, व्यवसायी र प्रहरी अधिकारीहरु वीच गोरखा स्थित १२ किलो चौकीमा भएको छलफल अनुसार १५ लाख रुपैयाँ पीडित पक्षलाई दिने र पीडित पक्षले लास उठाउने सहमति नजिक पुगिएको एक प्रहरीले बताए । क्रसर उद्योगको क्षेत्रलाई घेराबार गरेर व्यवस्थित बनाउन समेत व्यावसायीलाई प्रहरी अधिकारीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ