वीरगञ्जमा मृत्यु भइसकेका ७० वर्षीय वृद्धमा ८ दिनपछि कोरोना संक्रमण पुष्टि, परिवारले शव जलाइसके

वीरगञ्जमा मृत्यु भइसकेका ७० वर्षीय वृद्धमा ८ दिनपछि कोरोना संक्रमण पुष्टि, परिवारले शव जलाइसके

Corona Positive Kit

वीरगञ्ज । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय वृद्धमा मृत्यु भएको ८ दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती पुरुषको जेठ ४ गते नै मृत्यु भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरे ।

मृतक वृद्ध बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुलेको छ ।

स्रोतका अनुसार नेशनल मेडिकल कलेजले लापरबाही गर्दै जेठ ४ गते नै परिवारलाई शव जिम्मा लगाएको थियो । कोरोना आशंकामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको देखिएको छ।

संक्रमित वृद्ध जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात ४ गते उनको मृत्यु भएको हो । मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो ।

अस्पतालबाट शव बुझेकै दिन आफन्तले बृद्धको अन्तिम संस्कार गरेका थिए ।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन । वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

किन भयो रिपोर्ट आउन ढिलाई

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले तीन पटकसम्म ती वृद्धको रिपोर्ट शंकास्पद आएको र चौथो पटकमा मात्र पोजेटिभ देखिएको बताए । पटक पटक शंकास्पद देखिँदा एकिन गर्न समय लागेको उनको दावी छ ।

उनको अनुसार जेठ ३ गते संकलन भएको स्वाबको परीक्षण नारायणीको ल्याबमा पहिलो पटक ५ गते शंकास्पद देखिएको थियो । त्यसपछि फेरि ६ गते परीक्षण गर्दा पनि शंकास्पद नै देखियो ।
त्यसपछि आफूहरुले थप परीक्षणका लागि काठमाडौं पठाएको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ