पोखरामा हिजो मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि

पोखरामा हिजो मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि

Fishtail Hospital

पोखरामा मृत्युपछि एक महिलाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । बिहीबार राति मृत्यु भएकी महिलाको आज कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटनकी ४७ वर्षीया महिलाको शुक्रबार बिहानै अन्त्येष्टि गरिएकोमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

लामो समय ब्लड क्यान्सरबाट पीडित उनी स्वास्थ्यमा समस्या भएपछि पोखरा गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा तीन दिनअघि भर्ना भएकी थिइन् । बिहीबार बिहान कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा राति सवा १ बजे भेन्टिलेटरमा रहँदा मृत्यु भएको थियो ।

अस्पतालले कोरोनाका कारणले नभई मृत्यु अन्य कारणले भएको जनाउँदै भोलिपल्ट बिहान परिवारजनलाई शव हस्तान्तरण गरेपछि परिवारले अन्त्येष्टि गरेका थिए ।

महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा उपस्थिति रहेको थियो । पर्यटन व्यवसाय क्षेत्रमा संलग्न रहेकाले पनि दाहसंस्कारमा धेरैको उपस्थिति रहेको थियो । अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै परिवारलाई शव हस्तान्तरण गर्नु गम्भिर लापरवाही भएको स्वास्थ्य महाशाखाको भनाई छ । महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।

फिस्टेल हस्पिष्टलको गम्भिर लापरबाही !

महिलाको मृत्यु कोरोनाबाट होइन भन्दै शव अस्पतालले दिएपछि परिवारले पनि निर्धक्क भएर संस्कार अनुसार नै अन्त्येष्टि गरेकोमा मृत्युको १ दिनपछि रिपोर्ट पोजिटिभ आयो । महिला अस्पतालमा उपचारका लागि ल्याएपछि पीसीआर जाँच गर्न स्वाब पठाइयो तर रिपोर्ट नआउँदै शव आफन्तलाई जिम्मा दियो ।

हस्पिटलको यस्तो बेवास्ताले एक त उपचारमा खटिने स्वास्थ्यकर्मीहरु नै असुरक्षित हुन पुगे । अर्को त संक्रमित व्यक्तिको शव परिवारलाई दिँदा आफन्त, परिवारजनका साथै मलामी जानेहरुलाई पनि जोखिम बढायो ।

बिरामीहरु जाने हस्पिटल जस्तो ठाउँमा समेत जोखिम बढ्यो । आफ्नो स्वास्थ्यको परवाह नगरी उपचारमा खटिने चिकित्सक, नर्सहरु यस्ता परिस्थितिसँग जुध्दै अघि बढ्नुपरेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत नवराज शर्माले बुँदागत रुपमै अस्प्ताललाई केही प्रश्न गरेका छन् ।

उनले लेखेका छन्ः

पोखरामा रहेको फिस्टेल अस्पतालले प्रष्ट पार्नुपर्ने केहि प्रश्नहरु :-
१, मृतक महिलाको कोरोनाको नमुना परिक्षण किन गरेको ?
२, परिक्षणको लागि नमुना क्षयरोग केन्द्रमा पठाएपछी मृतकको शब किन परिबारलाई हस्तान्तरण गरिएको ? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको ?
३, नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको हो ?
४, कि अस्पताल प्रसाशनले प्रदेश सरकारलाई अटेरी गरिएको हो ?
५, अस्पताल प्रशासनले गरेको गल्तिले गर्दा हिजो मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?
६, यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?
७, के फिस्टेल अस्पतालले जे गरेपनि हुने हो, मनपरी छ अस्पताललाई जनस्वास्थ्यको बिषयमा ?
८, यो महामारीको बेलामा यस्तो मनपरी किन ?

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds