नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः सङ्घीय सरकार मातहत आएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनःसङ्घीय सरकार मातहत राखिएको हो । शुक्रबार भएको निर्णयसँगै भानु जन्मस्थल विकास समितिको सम्पूर्ण जिम्मा अब सङ्घीय सरकारले गर्ने तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए।
“स्थानीयस्तरबाट पनि जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग भइरहेको थियो, लामो समयको प्रयासपछि उक्त कामले सार्थकता पाएको छ,” श्रेष्ठले भने । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय सरकार मातहत आएको विकास समितिलाई सङ्घ सरकार मातहत नै राखेर थप व्यवस्थित बनाउनुपर्ने आवाज उठेको थियो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विकास समितिलाई नगरपालिका मातहत राखिएको परिपत्र मन्त्रालयबाट प्राप्त भए पनि आफूहरुले यसलाई सङ्घ सरकार मातहत नै राख्न पटकपटक ध्यानाकर्षण गराएको बताए । यसअगाडि जन्मस्थल विकास समितिलाई सङ्घ सरकार मातहत नै राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराइएको थियो ।
भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहीन छ । समितिमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त भएका छैन । भानुभक्त आचार्यको स्मृतिमा शिखरकटेरीमा रामायण भवन निर्माण भए पनि कसले संरक्षण गर्ने भन्ने द्विविधा रहँदै आएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा रामायण भवन निर्माण भएको छ । शिखरकटेरीमा निर्माण गर्ने भनिएको भानुगृहको काम भने हालसम्म अगाडि बढ्न सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि शिलान्याससमेत गरेको थियो ।
विसं २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो ।
भानृ गृह करीब रु ६८ लाखको लागतमा निर्माण हुने भनिए पनि अझै निर्माण शुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’