उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ ।
आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ ।
उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् ।
जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिए । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताए ।
बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।
अग्लो स्थानमा हिमपात धेरै भएको छ । मानिस हिउँमा खेल्नका लागि घरबाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसान भने खुशी देखिएका छन् ।
खडेरी परेका बेला हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातले कात्तिके बालीनालीका लागि राम्रो हुने भएको छ । यो पटक परेको हिमपातले खनजोत गर्न किसानलाई सजिलो हुने भएको छ ।
हिमपात रोकिए लगत्तै यहाँका किसानले अब खेतबारीमा कात्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमीलगायत बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन ।
हवाइ उडान अवरुद्ध
आज बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात अवरुद्ध भएको छ । हवाई उडान अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन सकेको छैन ।
उडान अवरुद्ध हुँदा सिमकोटमा व्यवसाय गर्ने पसलेका सामान, निर्माण व्यवसायीका सामग्री ढुवानी ढप्प रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रु हिमपातका कारण यतै रोकिएका छन् ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा