कराँते खेलाडी नवीन रसाइली (२३) साग विजेता हुन् । गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ६७ केजी तौल समूहमा उनले स्वर्ण जित्दै देशको नाम चम्काएका थिए । संघर्षपूर्ण जीवन बाँच्दै आएका यी स्वर्णधारी यतिबेला पुनः चर्चामा छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधाको मनोनयनमा परेका छन् ।
आफू मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै नवीनले भने, ‘दुःख गरेमा फल अवश्य पाइने रहेछ । मेरो लक्ष्य अझै ओलम्पिकमा सहभागी हुनु हो ।’ त्यसैले उनी यतिखेर ललितपुरमा तालिम गरिरहेका छन् । बिहानीको समय राष्ट्रिय टिमसँग तालिममा व्यस्त उनी दिउँसो बालाजु कराते डो एकाडेमीमा आबद्ध छन् ।
बालाजुमा उनी २०६६ देखि नै आबद्ध छन् । उनलाई ध्रुवविक्रम मल्लले कराते सिकाएका हुन् । २०६५ सालदेखि सानैदेखि कराते खेल्दै आएका उनी स्वर्ण पदक जित्नुलाई जीवनको अहोभाग्य ठान्छन् । भन्छन्, ‘पदक जित्नु आफ्नो लागिमात्रै हैन, राष्ट्रकै इज्जत रहन्छ । विदेशमा यसको छुट्टै भ्यालु छ । नेपालमा अझै पनि खेल र खेलाडीको भविष्य सुनिश्चित हुन सकेको छैन ।’
बागलुङ जिल्लाको बोंगादोभान–२ मा २०५५ मा जन्मिएका नवीनले सन् २०११ मा ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । बंगलादेशमा भएको पाँचौं साउथ एशियन कराते च्याम्पियनसीपमा एकलतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेताका नाम पनि उनकै नाममा छ । बावु पूर्णवीर र आमा भीमदेवी रसाइलीका ३ छोरा र १ छोरीमध्ये उनी माहिला हुन् ।
सन् २०१४ मा सम्पन्न साउथ एशियन क्याडेट/जुनियर तथा सिनियर कराते च्याम्पियनसीपमा उनी ६८ केजी तौल समूहमा प्रथम हुन सफल भएका थिए । उनले भाग लिएका एक दर्जन बढी विभिन्न प्रतियोगितामा कुनै न कुनै पदक जित्दै आएका छन् । सन् २०१० मा काठमाडौंमा भएको कराते प्रतियोगितामा उनले स्वर्ण जितेका थिए । परिवारमा उनका दाइसमेत यही खेलसँग आबद्ध छन् । पोखरा स्पोर्टस् अवार्डमा समेत आफूले अवार्ड प्राप्त गर्ने उनको अपेक्षा छ ।
खेल क्षेत्रमा समर्पित खेलाडीहरुको प्रतिभा प्रोत्साहन गर्दै मञ्चले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको हो । गण्डकी प्रदेशस्तरको सो अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड वितरण गरिने अवार्डका मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीले बताए ।
वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधामा मनोनीत उत्कृष्ट ३ मध्ये १ जनालाई जनही २ लाखसहित अवार्ड प्रदान गरिने छ । नवीनसँगै वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल परेका छन् । अवार्ड वितरण वैशाख २० मा पोखरा सभागृहमा हुनेछ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’