पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले अब कास्की जिल्ला अदालतमा नियमित तारिख धाउन नपर्ने भएको छ ।
मंगलबार जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले नियमित तारिख धाउन नपर्ने आदेश दिएको हो । आइतबार लामिछानेले तारिख बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने माग राखेर अदालतमा निवेदन दिएका थिए ।
सोही अनुसार मंगलबारको इजलासले उनको माग बमोजिमको आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिए ।
यसअघि उनले हरेक महिना अदालतमा उपस्थित भएर तारेख बुझ्नुपर्ने व्यवस्था थियो । अघिल्लो पुसमा धरौटीमा छुटे पनि लामिछाने कास्की अदालतमा हरेक महिना पेसी बुझ्न आइरहेका थिए । उनी अन्तिम पटक माघ २९ गते जिल्ला अदालतमा तारेखमा आएका थिए।
अब भने उनी नियमित रूपमा तारेख बुझ्न अदालत गइराख्नु पर्ने छैन । यद्यपि मुद्दाको प्रक्रियाका क्रममा कुनै थप प्रमाण बुझ्न आवश्यक परेको खण्डमा वा अदालतले बोलाएको अवस्थामा भने उनी उपस्थित हुनुपर्नेछ ।
मुद्दाका अन्य प्रक्रिया भने यथावत् नै रहने सूचना अधिकारी किसानले बताए । ‘तारिखमा बस्न नपर्ने गरी सुविधा पाउँ भनेर निवेदन आएको थियो । त्यो निवेदन माग बमोजिम भएको छ,’ उनले भने, ‘यो आदेशपछि अब उहाँ तारिख आइराख्नु परेन । महिना–महिना जस्तो थियो, त्यो तारिखमा रहन नपर्ने गरी आदेश भएको हो ।’
लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा सबैभन्दा पहिले कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । उनी अघिल्लो वर्षको कात्तिकमा पक्राउ परेर पुसमा धरौटी बुझाएर रिहा भएका हुन् ।
उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । ‘मुद्दाको रोहमा अन्य केही प्रमाण बुझ्न पर्ने आवश्यकता महसुस भएर अदालतले बोलाउँदा खेरी आउने गरी अदालतले नियमित तारेखमा आउन नपर्ने सुविधा दिएको छ,’ किसानले अघि थपे, ‘अरू मुद्दा चाहिँ कारबाहीकै क्रममा छ, त्यही अवस्थामा छ ।’
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा रविसहित ६३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ रविको भागमा पर्ने गरी बिगो दाबी गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण